ध्वनि प्रदूषण यस्तो समस्या हो जसले स्वास्थ्यमा विस्तारै हानि पुर्‍याउँछ । ध्वनि प्रदूषणका कारण हरेक वर्ष हजारौं मानिसले श्रवण क्षमता गुमाउने गरेका छन् । कानले आवाजको निश्चित तीव्रता मात्र सुन्न सक्छ । चर्को आवाजले कानलाई हानि पुर्‍याउँछ ।

ट्राफिक कोलाहल र हृदयघातबीचको सम्बन्ध छ । ट्राफिक कोलाहलले स्ट्रोक, मधुमेह र मुटुसँग सम्बन्धित धेरै रोगको जोखिम बढाउँछ । चर्को आवाजलाई मुटुरोगको जोखिम कारक पनि मानिएको छ ।

अत्यधिक कोलाहलका कारण मानिसलाई राति निद्रा लाग्दैन र यसले गर्दा तनाव र बेचैनीको समस्या पनि हुन्छ । पछिल्ला केही वर्षयता मुटुरोगीको संख्या तीव्र रुपमा बढेको छ । विशेषगरी युवाहरू हृदयघातको सिकार भइरहेका छन् र ध्वनि प्रदूषण पनि यसको प्रमुख कारण हो ।

भर्खरै जर्नल सर्कुलेसन रिसर्चमा प्रकाशित एक अध्ययनले ट्राफिक कोलाहल र हृदयघातबीचको सम्बन्ध पत्ता लगाएको छ । अन्तर्राष्ट्रिय अन्वेषकहरूको टोलीले ठूलो मात्रामा तथ्यांकको विश्लेषण गरी ट्राफिक कोलाहलले स्ट्रोक, मधुमेह र अन्य मुटुसम्बन्धी रोग हुने सम्भावना बढाएको पत्ता लगाएका छन् ।

अनुसन्धानले सडक ट्राफिक कोलाहलमा प्रत्येक १० प्रतिशतले वृद्धिमा हृदयरोगको जोखिम ३.२ प्रतिशतले बढ्ने देखाएको छ । राति ट्राफिकको आवाजले निद्रामा बाधा पुर्‍याउँछ । यस्तो अवस्थामा निद्रा नपुग्दा रक्तनलीमा तनाव हर्मोनको स्तर बढ्छ, उच्च रक्तचाप र रक्तनलीसँग सम्बन्धित रोगको जोखिम बढाउँछ ।

जर्मनीको युनिभर्सिटी मेडिकल सेन्टर अफ मेन्जका वरिष्ठ प्रोफेसर र अध्ययनका प्रमुख लेखक थोमस मुन्जेल भन्छन्, ‘ट्राफिक आवाजलाई हृदयरोगको जोखिम कारकको रूपमा मान्यता दिनु महत्त्वपूर्ण छ । यस्तो अवस्थामा ट्राफिक कोलाहल कम गर्ने उपाय अपनाउनु अति जरुरी हुन्छ । ध्वनि प्रदूषण बढ्नुमा धेरै कारण हुनसक्छन् जसलाई कम गर्ने उपाय खोज्नुपर्छ ।’

ट्राफिक ध्वनि प्रदूषणको सबैभन्दा ठूलो कारण हो

ध्वनि प्रदूषणको सबैभन्दा ठूलो कारण ट्राफिक मानिन्छ । बढी चहलपहल हुने क्षेत्रमा बसोबास गर्ने मानिसले यस्तो समस्या भोग्नु परेको छ । यस्ता क्षेत्रमा बसोबास गर्ने मानिसका लागि ध्वनि प्रदूषण ठूलो चुनौती बनेको छ । विभिन्न अनुसन्धानमा सडक छेउमा बनेका घरमा बस्ने मानिस कहिल्यै पनि शान्तिसँग सुत्न नसक्ने देखाएको थियो ।

एकातिर वर्षेनी लाखौं नयाँ सवारीसाधन सडकमा आउने गरेकाले सोही अनुसार सडक बनाउन आवश्यक छ भने सडक बनाउँदा दिगो पनि हुनुपर्छ भन्ने कुरामा पनि ध्यान दिनु जरुरी छ । फलस्वरुप जीर्ण र खाल्डाखुल्डी सडकले ट्राफिक जाम मात्रै होइन, वर्षेनी धेरैको ज्यान लिने गरेको छ । पार्किङ समस्याका कारण समस्या बढ्दै गएको छ । विकासोन्मुख देशहरूको मुख्य सहरको सडकमा अवैध रूपमा पार्किङ गरिएका सवारीसाधन देखिन्छन् । धेरैले सडकलाई पार्किङ गर्ने ठाउँ बनाएका हुन्छन् ।

सवारीसाधनको वृद्धिको अनुपातमा पार्किङ गर्ने ठाउँको कुनै योजना बनाइएको छैन । अवैध पार्किङका कारण सडक क्षेत्र कम हुँदै गएका छन् भने पार्किङ गरिएका सवारीसाधनका कारण हिंड्ने ठाउँ पनि छैन । पार्किङ समस्याका कारण सडक जाम हुने र जाम हुँदा बज्ने हर्नले ध्वनि प्रदूषण बढ्ने गर्छ ।

सिंगापुर जस्ता देशलाई हेर्ने हो भने नयाँ कार किन्दा भारी कर तिर्नुपर्छ । सडकमा गाडी चलाउन छुट्टै अनुमति लिनुपर्छ । यसबाहेक क्षेत्रीय इजाजत पत्र प्रणाली अन्तर्गत छनोट भएको क्षेत्रमा प्रवेश गर्न छुट्टै लाइसेन्स लिनुपर्छ । अवैध पार्किङ रोक्न हटलाइन नम्बर पनि छ, जसमा जो कोहीले जानकारी दिन सक्छन् । विकासोन्मुख देशहरूमा पनि सरकारले कडा नियम बनाएर चर्को जरिवानाको व्यवस्था गरेमा समस्या अलिकति सुधार हुन्छ ।

पुराना र जीर्ण बसका कारण पनि जाम

विकासोन्मुख तथा विकासशील देशका सडकहरूमा प्राय: पुराना र जीर्ण बस गुडेको देखिन्छ । पुराना बसहरू बाटोमा बिग्रिने सम्भावना भयो । बाटोमा बस बिग्रिंदा त्यसकै कारण ट्राफिक जाम हुन्छ । यस्तोमा हरेक पटक सवारीसाधन बिग्रिएपछि घण्टौंसम्म ट्राफिक जाम हुने गर्छ । एउटा लेन अवरुद्ध भएपछि गाडी, टेम्पु, अटोरिक्सा, मोटरसाइकल लगायत सबै प्रकारका सवारी साधनको लामले सडक जाम हुन्छ । हतारमा चालकहरूले एकअर्काको बाटो काटेर ओभरटेक गर्ने प्रयास गर्छन्, जसले समस्या झन् बढाउँछ ।

विकासोन्मुख देशका प्राय: बसहरू १० देखि १२ वर्ष पुराना हुन्छन् । खाल्डाखुल्डी सडकहरूमा चल्छन्, तिनीहरूको बोक्ने क्षमता भन्दा बढी यात्रुहरू बोक्छन् । यस्तोमा बस बिग्रिने र जाम हुने सम्भावना झन् बढ्ने भयो ।

सडकमा क्षमताभन्दा धेरै गुणा बढी सवारी साधन छन् । स्वाभाविक रूपमा सडकको बीचमा बस बिग्रिएमा, त्यस ठाउँ वरपर अन्य सवारी साधनको आवतजावतका कारण जाम हुन्छ । जामको अर्थ ध्वनि प्रदूषण हो । ट्राफिक जाममा फसेपछि हर्नका आवाजले कान दुख्न थाल्छ, टाउको दुख्न थाल्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0