भूकम्प एउटा यस्तो प्राकृतिक विपद् हो जसको भविष्यवाणी गर्न सकिंदैन । भूकम्पका कारण सुनामी, पहिरो तथा आगलागी लगायतका अन्य विपदहरू हुन्छन् । तर, के जलवायु परिवतर्न वा बढ्दो तापमानका कारणले पनि भूकम्पको संख्यामा वृद्धि हुन्छ त ?

वास्तवमा सबैभन्दा खतरनाक भूकम्पहरु ती हुन्छन् जो टेक्टोनिक प्लेटको टकरावका कारणले गर्दा आउँछन्। यिनै प्लेटहरुले नै पृथ्वीको माथिल्लो पत्र क्रस्ट र त्यसभन्दा तल्लो पत्र म्यान्टल बनाउँछन् ।

धर्तीको केन्द्रबाट निस्किने तापले ती प्लेटलाई चलायमान बनाउँछ, कम्तिमा एक वर्षमा आधा इन्चसम्म यी प्लेटहरू सर्दछन् । यी प्लेटहरू एक अर्कामा ठक्कर खान्छन्, माथि चढ्दछन्, तल धस्सिन्छन्, एक अर्कामा घश्रण हुन्छन् । त्यसबाट जुन प्रेसर निस्किन्छ, त्यो रिलिज हुँदा भूकम्प आउँछ।

त्यसैले भूकम्प कहिले आउँछ भनेर अड्कल काट्न मुस्किल हुन्छ । जसले भूकम्पको भयानकतालाई झनै बढाउँछ ।

भूकम्पको संख्या तथा तीव्रतालाई अन्य बाह्य तत्वहरूले पनि प्रभाव पर्ने र जलवायु परिवर्तन तथा बढ्दो तापमानले भूकम्पमा वृद्धि गर्ने पछिल्लो अनुसन्धानले देखाएको छ।

जियोलोजिकल सर्भे अफ क्यानडा तथा युनिभर्सिटी अफ भिक्टोरियाका भूकम्प वैज्ञानिक जोन क्यासिडीका अनुसार तापमान वृद्धिले हिमनदी पग्लिने र त्यसबाट समुद्रको जलसतहमा वृद्धि हुन्छ। जसका कारण माथिबाट धर्तीको माथिल्लो पत्रमा दबाब बढ्दछ । जब उक्त प्रेसर रिलिज हुन्छ, तब भूकम्प आउँछ। सो प्रेसरका कारण टेक्टोनिक प्लेट हल्लिन्छ र दबाब रिलिज गर्नका लागि स्वतन्त्र हुन्छ ।

जब टेक्टोनिक प्लेटले दबाब रिलिज गर्दछ, त्यसबाट भूकम्प आउँछ। जर्मनीका जियोफिजिसिस्ट मार्को बानहफका अनुसार समुद्रमा जलस्तर जतिधेरै बढ्यो तटीय क्षेत्रमा दबाब उति नै बढ्नेछ। उक्त दबाब फल्ट लाइनमा पर्नेछ । दबाब जतिधेरै बढ्यो भूकम्प आउने खतरा त्यति नै बढ्नेछ ।

मार्कोका अनुसार यस्ता भूकम्पको सेस्मिक चक्र सुस्त हुन्छ। इसले लामो समयसम्म दबाब झेलिरहन्छ र अचानक फाट्दछ । यस्तो खालका भूकम्प आउने अधिक सम्भावना लस एन्जल्स र सनफ्रान्सिस्को जस्ता ठाउँहरुमा रहेको छ। तर यी भूकम्पहरु कहिले आउँछन् ? भनेर अनुमान गर्न गाह्रो हुन्छ। आगामी केही दशक भित्रमा सायद यस्ता भूकम्पहरु आउन सक्ने शोधकर्ताहरु बताउँछन् ।

वर्तमानमा विश्वमा जति हरितगृह ग्यास उत्सर्जन भैरहेको छ त्यस हिसाबले आगामी कम्तिमा एक हजार वर्षसम्म समुद्रको जलस्तर बढ्नबाट कसैले रोक्न सक्नेछैन। यसबाट तटीय भूकम्प आउने तिव्रता तथा संख्या बढ्नेछ । अर्थात् लामो समयपछि आउने तटीय भूकम्प छिटो छिटो आउनेछन् । स्यान एन्ड्रियास फल्टमा आगामी १ हजार वर्षसम्म यस्ता घटना हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0