बुटवल । निर्मांण कम्पनीले ९ वर्षसम्म अलपत्र पारेपछि बुटवलको मुख्य बजार क्षेत्रको सडक निर्माणका लागि नयाँ टेन्डर आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय बुटवलले ६ महिनामा सम्पन्न गर्नेगरी नयाँ टेन्डर (बोलपत्र) आह्वान गरेको हो ।

ठेकेदार कम्पनी द कञ्चनजंघा विरुवा जेभीले तीन वर्षमा सम्पन्न गर्नेगरी निर्माण थाले पनि ९ वर्षसम्म काम पूरा नगरेपछि नयाँ टेन्डर आह्वान गरिएको हो । राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक अलपत्र हुँदा करिब दशकदेखि बुटवलबासी र यात्रुले सास्ती भोग्दै आएका छन् । सडक डिभिजन कार्यालय बुटवलका इन्जिनीयर महेश्वर लम्सालका अनुसार ६ महिनाभित्र सम्पन्न गर्नेगरी नयाँ टेन्डर भएको हो । लम्सालले बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्मको लागि ४८ करोड र बेलहियातर्फको लागि १० करोड गरी ५८ करोडमा टेण्डर आह्वान गरिएको जानकारी दिए ।

६ लेन सडकअन्तर्गत बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक २०७३ साल चैत १७ गते ठेक्का सम्झौता गरिएको थियो । बिरुवा जेभी काठमाडौंले ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयांमा ठेक्का सम्झौता गरेकोमा ९ वर्षमा जम्मा ५४ प्रतिशत मात्र काम गरेको थियो । सोही निर्माण कम्पनीसँग ठेक्का रद्द गरिएको बेलहियादेखि बाइपाससम्मको ७५० मिटर सडकको पनि नयाँ टेण्डर आह्वान गरिएको छ ।

उक्त कम्पनीले २०७३ सालमा बेलहियादेखि बाइपाससम्मको सडकका लागि १७ करोड र राजमार्ग चौराहदेखि गोलपार्क सम्मको सडकको लागि ४७ करोड २७ लाख रुपैयांमा ठेक्का सम्झौता गरेको थियो । बुटवलको सडकको लागि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाइ गरेपछि सडकको लागत थप हुँदै ५३ करोड ९७ लाख रुपैयां पुगेको थियो । यो अवधिमा दुई वटा सडकको लागि करिब ३५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

अहिले पुन ५८ करोडमा नयां टेण्डर आह्वान गरिएको हो । अहिले गरिएको टेण्डर आह्वानअनुसार दुवैतर्फको सडकको निर्माण कार्य ६ महिनाभित्र सक्नुपर्ने छ । मुख्य बजार क्षेत्रमा आठ वर्षसम्म सडक अलपत्र रहँदा व्यवसायीहरू विस्थापित भएका छन् भने आयोजनाको लागत पनि बढेको छ । निर्माण कम्पनीलाई भुक्तानी गरिएको र अहिले टेण्डर आह्वान गरिएको रकम जोड्दा दुईतर्फको सडकको लागत ९१ करोड पुगेको छ । यसअघि दुवैतर्फको सडकको लागत ७१ करोड थियो ।

ठेक्का तोडेर कञ्चनजंघा बिरुवा जेभी काठमाडौंलाई कालोसूचीमा राखेको डिभिजन सडक कार्यालयले बैंक ग्यारेन्टी वापतको १२ करोड बढी रकम तानिसकेको छ । निर्माण कम्पनीले दुईतर्फको सडकको ३२ करोड रकम जरिवाना तिर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0