काठमाडौँ । मिस माल्टा चेरिस स्पीटेरी यही साउन १४ गते नेपाल भ्रमणमा आउने तय भएको छ । उनीसहितको टोली साउन १४ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए ।

टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि नेपाल आउने छन् । उनीहरुको साथमा भण्डारी र सुजित बस्यालपनि नेपाल आउनेछन् ।

नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्नेछन् । यस्तै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना छ ।

यस्तै मिस माल्टाको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री लगायतसँग भेटवार्ता गर्ने भण्डारीले बताए । नेपाली कामदारहरुको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिकै बीच मिस माल्टाको टोलीले गर्न लागेको भ्रमणले माल्टामा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटकहरु नेपाल भित्रने गरेका छन् । उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवालाहरुको भनाइ छ ।

‘मिस माल्टाको टोली नेपाल आउँदा वा घुम्दा माल्टाका मान्छेले नेपाल घुम्ने ठाउँ रहेछ भन्ने जानकारी पाउँछन् । यो हाम्रो लागि राम्रो पक्ष हो’, भण्डारीले भने, ‘त्यसमाथि उनीहरुलाई माल्टाका सबै मिडियाले फलो पनि गरिरहेका हुन्छन् । उनीहरुले नेपालबारे डकुमेन्ट्रीसमेत बनाउने तय भएको तथा मिडियाहरुमा भ्रमणबारे चासो हुने भएपछि स्वाभाविकरुपमा माल्टामा नेपालको पर्यटनको प्रमोट गर्न सकिन्छ ।’

स्मरण रहोस् मिस माल्टामा कोरियोग्राफरका रुपमा नेपाली सुजित बस्यालसमेत कार्यरत छन् । उनीबाटै मिस माल्टाको टीमले नेपालबारे चासो दिएर नेपाल भ्रमण गराउन लागिएको बताइएको छ । टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0