९ साउन, बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले आफ्नो भागमा परेका ५ मन्त्रालयका लागि संस्थापन पक्षका ४ र इतर पक्षका १ जनाको नाम छनोट गरेको हो । तर, यसप्रति संस्थापन इतर पक्षले तीव्र असन्तुष्टि जनाएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बिहान बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ । शपथ ग्रहणमा सहभागी हुन नेता कार्यकर्ताहरु बुटवलमा भेला भएका छन् ।

कांग्रेसबाट कोको बन्दैछन् मन्त्री ?

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लगायतका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटेर मन्त्रीहरुको नामावली टुंगो लगाएका थिए ।

स्रोतका अनुसार कांग्रेस प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीको नाम करिब–करिब फाइनल भएको छ । न्यौपाने बाहेक ४ जना संस्थापन समूहका हुन् ।

मन्त्री बन्न लागेकाहरुमा प्यूठानका थापा दोहोरिन लागेका हुन् भने अरु सबै नयाँ अनुहार हुन् । थापा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । थापा डिल्लीबहादुर चौधरीको पालामा उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।

प्रदेश समितिसँग सल्लाह नै नगरी मन्त्री बन्नेहरुको नामावली टुंगो लगाइएको भन्दै संस्थापन इतर पक्षका नेताहरुले आजको शपथ ग्रहण कार्यक्रममा सहभागी नहुने बताएका छन् । यद्यपि संस्थापन इतरका प्रचण्डविक्रम न्यौपाने पनि प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि मन्त्री बन्नेहरुको नाम छनोट गर्दा प्रदेश समितिसँग सल्लाह र समन्वय नभएको बताए । ‘क–कसलाई मन्त्री बनाउँदैछन्, मलाई कुनै जानकारी छैन,’ पुनले भने ।

संविधानले तीन तहका सरकारको मान्यता दिएपछि सोही अनुसार पार्टी समितिहरु पनि तीन तहमै निर्णय गर्न स्वायत्त हुनुपर्ने भन्दै उनले केन्द्रबाट मनोमानी भएको बताए ।

केन्द्रको मनोमानी हुने भए प्रदेश संरचना खारेजीको बाटोमा जानुपर्ने उनले बताए । ‘प्रदेश समितिलाई बाइपास गर्ने हो भने संघीयता किन ल्याएको हो ? सिंगो प्रदेश संरचना खारेज गरे हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0