१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका छन् । सोमबार बिहान आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले भवन उद्घाटन गरे ।

२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।

कार्यक्रममा बोल्दै गृह सचिव एकनारायण अर्यालले भने, ‘भूकम्पपछि प्रहरी वर्षौंसम्म गुणस्तरीय पूर्वाधारको अभावमा रहेर काम गरिरहनु परेको थियो, अब उप्रान्त नयाँ भवनबाट सेवा प्रवाह हुँदा सेवाग्राही बढी लाभान्वित हुनेछन् ।’ यसले प्रहरीमा उत्प्रेरणा र मनोबल पनि बढाउने उनले बताए ।

प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो ।

भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ । यो भवनमा टेकुबाट काठमाडौं प्रहरी २६ असारमै सरेको थियो ।

तर, सोमबार मात्र औपचारिक उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, मुख्य सचिव लीलादेवी गड्तौला, निमित्त प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0