काठमाडौँ — दुईवटा वाइडबडी र एउटा न्यारोबडी ‘ग्राउन्डेड’ हुँदा नेपाल वायुसेवा निगमले दैनिक कम्तीमा पाँच करोड रुपैयाँ बराबरको व्यापार गुमाउन थालेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि चारवटा विमान रहेकामा वाइडबडी ‘अन्नपूर्ण’ विस्तृत मर्मत (सी–चेक) का लागि दुई महिनादेखि इटालीको नेपल्समा छ ।

अर्को वाइडबडी ‘मकालु’ पनि ‘सी–चेक’ मा पठाउनुपर्ने भएकाले बुधबार रातिदेखि नियमित उडानमा छैन । न्यारोबडी ‘सगरमाथा’ ले ‘हाइड्रोलिक’ प्रणालीमा समस्या भएर शनिबार रातिदेखि नै उडान भर्न सकेको छैन ।

निगमको मार्केटिङ विभागका अनुसार एउटा न्यारोबडीले दिनमा करिब एक करोड र दुईवटा वाइडबडीले चार करोडको कारोबार गर्दै आएका थिए । तीन वटा विमान ‘ग्राउन्डेड’ भएपछि सबैभन्दा नाफा हुने जापानको नारिता रुटमा मात्रै सातामा १८ करोडको नोक्सानी हुने भएको छ । यस रुटमा निगमको वाइडबडीले कार्गोबाट पनि मनग्य आम्दानी गर्दै आएको छ । ‘एउटा उडानमा कार्गोबाट हुने न्यूनतम १०/२० लाखलाई समेत हिसाब गर्दा नारिता उडान बन्दका कारण निगमले सातामा १९ करोडसम्मको आम्दानी गुमाउँछ,’ मार्केटिङ विभागका ती अधिकारीले भने ।

काठमाडौं–नारिता–काठमाडौं रुटमा निगमले सातामा तीन वटा उडान गर्दै आएको थियो । यस रुटमा एकतर्फी भाडा १ लाख २० हजार रुपैयाँ छ । चाडपर्व नजिकिँदै गर्दा निगमले एकतर्फी २ सय ५० यात्रु उडाउँदा पनि ३ करोडसम्मको व्यापार हुन्छ । ‘चाडपर्व नजिकिँदै गर्दा २ सय ७४ सिटको एउटा वाइडबडीमा दुईतर्फी ५ सय यात्रु हुन्छन्,’ निगमका एक वरिष्ठ निर्देशकले भने, ‘यो हिसाबअनुसार सातामा तीन उडान बन्द हुँदा यात्रुबाट आउने १८ करोड हाराहारी रकम गुम्छ ।’

निगमको उडान रद्द भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र यात्रु । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

निगमले वाइडबडी ‘अन्नपूर्ण’ ‘सी–चेक’का लागि असार ९ मा नेपल्स पठाएको थियो । विमान मर्मतमा संलग्न एमआरओ (एजेन्ट) कम्पनीले ३० दिनमै जहाजको ‘सी–चेक’ सकेर फर्काउने सम्झौतापत्रमा उल्लेख छ । तर उक्त वाइडबडी कहिले फिर्ता आउँछ भन्ने अझै निश्चित नभएको निगमका एक इन्जिनियरले बताए । उनका अनुसार एलसीमार्फत मर्मतको पहिलो किस्ता पठाउन निगमले ढिलाइ गरेका कारण वाइडबडी ‘अन्नपूर्ण’ ३७ दिनसम्म एमआरओको पार्किङमै थन्किएको थियो ।

अर्को वाइडबडी ‘मकालु’ पनि ‘सी–चेक’ कै लागि बुधबार राति दुबई हुँदै इटाली पठाइएको छ । यस विमानको ‘सि–चेक’ साउन ९ मै गर्नुपर्ने थियो । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि नागरिक उड्डयन प्राधिकरणको नियमनकारी निकाय फलाइट सेफ्टी स्ट्यान्डडर््स विभागले वाइडबडी ‘मकालु’ लाई व्यावसायिक उडानका लागि ३ सय घन्टा समय थपिदिएको थियो । थपिएको समयमा त्यसले जापानको नारिता रुटमा मात्रै उडान गरेको थियो । पछिल्ला दिन जापानका लागि हुने दुई वटा उडान गाभ्ने गरिएको थियो । सम्झौताअनुसार वाइडबडी ‘मकालु’लाई एमआरओ कम्पनीले ३० दिनमै फिर्ता पठाउनुपर्ने छ ।

न्यारोबडी ‘सगरमाथा’ ले ‘हाइड्रोलिक’ प्रणालीमा समस्या आएका कारण शनिबार मध्यरातिदेखि उडान भरेको छैन । त्यसलाई मर्मतपछि मंगलबार हङकङ उडानका लागि राखिएको थियो तर मर्मतमा लापरबाही गरेको खुलेपछि उडान रद्द गरियो । अब अन्तर्राष्ट्रिय उडानमा निगमको न्यारोबडी ‘लुम्बिनी’ मात्र छ । नारिता, क्वालालम्पुर, बैंकक, हङकङ, बैंग्लुरु, मुम्बई, दिल्ली, दोहा, दुबई र दमाममा हुने उडान त्यही न्यारोबडीबाट गराउनुपर्ने बाध्यता छ ।

जगेडा जहाज नहुँदा कतिपय उडान रद्द गर्नुपर्ने अवस्था आएको छ । विमानस्थलस्थित निगमको कार्यालयका अनुसार बुधबार राति १०ः२५ को काठमाडौं–दमाम उडान रद्द भएको छ । यो उडान रद्द हुँदा दुवैतर्फ ३ सय यात्रु अलपत्र परेका छन् । ‘आजको दमाम उडानलाई बिहीबार बिहान १०ः३० का लागि सारिएको छ,’ मार्केटिङ विभागका अधिकारीले भने, ‘काठमाडौं र दमाममा रोकिएका यात्रुलाई होटलमा राख्ने व्यवस्था गरिएको छ । विमानस्थल आइनसकेकालाई फोन गरेर भोलि बोलाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0