१६ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्रिपरिषदबाट नहटाउने बताएका छन् ।

आइतबार मन्त्रिपरिषदको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले एमाले मन्त्रिपरिषदमा सहभागी भएपछि पनि देवकोटा र मनाङेलाई नहटाउने बताएका हुन् ।

देवकोटा र मनाङेबारे आफूले एमालेसँग र आफ्नै पार्टीभित्र पनि कुरा गरेको भन्दै पाण्डेले भने, ‘तपाईंहरु यत्ति कुरा बुझ्नुस् उहाँहरु दुई जना एमाले थपिइसकेपछिको क्याबिनेटमा पनि हट्नुहुन्न, त्यति कुरामा उहाँहरु (एमाले) लाई कन्भिन्स गरेको छु ।’

गण्डकीमा ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री नियुक्त भएपछि आफ्नो पक्षमा बहुमत पुर्‍याउन नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकाेटा र स्वतन्त्र सांसद मनाङेको समर्थन लिएका थिए ।

केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि एमालेले उनीहरुलाई मन्त्रिपरिषदबाट हटाउन माग गरे पनि पाण्डेले हटाउन मानेनन् । बरु मन्त्रालय संख्या ७ बाट ९ वटा पुर्‍याइएको छ । जसमध्ये कांग्रेसले ५ र एमालेले ४ लिने सहमति भएको छ । देवकोटा र मनाङेको मन्त्रालय कांग्रेसले पाउने ५ मन्त्रालयभित्रै गणना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0