काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युबारे सत्यतथ्य छानबिनका लागि उनको परिवारले माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मृतक मुकेशका आफन्तहरूले घटनाको अवस्था हेर्दा दुर्घटनाबाट मृत्यु भएकोमा शङ्का रहेको बताएका हुन् ।

गत भदौ ९ गते बिहान मुकेश बर्दिबास–१२ स्थित सडक छेउमा मृत फेला परेका थिए । मृतकका परिवारले बताएअनुसार उनी स्थानीय शिक्षक सन्दीप झाले बोलाएपछि बर्दिबास गएका थिए ।

मुकेश बर्दिबास पुगेपछि सन्दीप, दिलिपकुमार मण्डल र २ जना केटीहरूले राजु होटलमा खाजा खाएको पाइएको उनले बताए । राजु होटलका सञ्चालकको भनाइ उद्धृत गर्दै मृतक मुकेशका आफन्तले बताएअनुसार उनलाई सन्दीप, दिलीपलगायतले रातको ८ः३० बजे गौरीडाँडाको होटलमा जाने कर गरेका थिए । उनीहरूले कर गर्दा पनि मुकेश जान नमानेको बताइएको छ ।

मृतक मुकेशका दाजु सतनप्रसाद यादवले उक्त घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्नुपर्ने बताए । उनले घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामा मुकेशको मृत्यु भएको विश्वास गर्न नसकिने बताए । उनले स्थानीय प्रहरी प्रशासनले पनि यस घटनालाई गम्भीरतापूर्वक नलिएको बताए ।

महोत्तरीको साम्सी गाउँपालिका–१ का वडा अध्यक्ष एवं नेपाली कांग्रेसका नगर सभापति विपिन विहारी यदुवीरले मृतक मुकेशको हत्यारा पत्ता लगाउन राज्यले आनाकानी गरेको बताए । मृतक मुकेशको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन दबाब दिन आफूहरूले महोत्तरी जिल्लाभरका वडाध्यक्षहरूको समिति नै बनाएको बताए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0