२३ भदौ, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको माग गर्दै अनशन बस्ने चेतावनी दिएका छन् ।
एक साताअघि प्रदेशसभा बैठकमा उनले १० वर्षमुनिका बालबालिकाको उपचार खर्च व्यहोर्ने निर्णय गर्न सरकारलाई आग्रह गरेका थिए ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी अस्पतालमा हुने बालबालिकाको उपचारको खर्च तिर्न नसक्ने बताएका थिए । त्यसपछि आइतबार मुख्यमन्त्री कार्कीलाई स्मरण पत्र पठाउँदै पूर्वमुख्यमन्त्री केदार कार्कीले ४८ घण्टाभित्र निःशुल्क उपचारको प्रक्रिया सुरु नगरे अनशन बस्ने घोषणा गरे । प्रदेशसभा सचिवालय परिसरमा अनशन बस्ने कार्कीको तयारी छ ।

बालबालिकाको निशुल्क उपचारको निर्णय गराउनका लागि आफू मर्न तयार रहेको बताउँदै उनले भने,‘कात्रो बोकेर अनशन बस्छु ।’ केदार कार्की मुख्यमन्त्री हुँदा प्रदेश सरकारले प्रदेशका दश वर्ष मुनिका बालबालिकाको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो । सरकार निर्णयपछि २०८० माघ १० गतेबाट विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, दमक बाल अस्पताल, हाम्रो अस्पताल विराटनगर र प्रादेशिक अस्पताल भद्रपुरमा बालबालिकाको निःशुल्क उपचार सुरु भएको थियो ।

माघदेखि असारसम्म नोबेल मेडिकल कलेजले ३ करोड ७० लाख २ सय ७४ रुपैयाँ, विराट मेडिकल कलेजले १ करोड ७६ लाख बिल पेश गरेको थियो । नोबेलले चलनचल्ती भन्दा १ करोड २८ लाख ८ हजार २ सय रुपैयाँ र विराटले ५१ लाख ११ हजार ६ सय ७५ रुपैयाँ बढी बिल पेश गरेको मन्त्रालयले परीक्षण गर्दा फेला पारेको थियो ।

हिक्मतकुमार कार्की नेतृत्वमा नयाँ सरकार बनेपछि प्रदेशले बालबालिकाको उपचार खर्च धान्न नसक्ने भन्दै प्रदेश सरकार मातहतका अस्पतालमा मात्रै निःशुल्क उपचार गर्ने नियम बनाएको थियो । तर प्रदेश मातहतका अस्पतालमा बालबालिकाको उपचारको विशिष्टीकृत सेवा छैन । ‘विशेषज्ञ सेवा नै नभएको अस्पतालहरुमा निःशुल्क गर्नुको अर्थ छैन, सरकारले जनताको आखामा छारो हाल्ने काम गरिरहेको छ’, पूर्वमुख्यमन्त्री केदार कार्कीले भने, ‘बालबालिकालाई विशिष्टीकृत सेवा निशुल्क हुनुपर्छ ।’

पूर्वमुख्यमन्त्री कार्कीले वर्तमान मुख्यमन्त्री कार्कीसमक्ष ९ बुँदे माग पत्र पेश गरेका छन् । मागको पहिलो नम्बरमा प्रदेशमा १० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निशुल्क उपचार कार्यक्रमको निरन्तरताको माग छ ।

बजेटमा २५ लाख भन्दा कमका आयोजना नराख्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिनुपर्ने लगायत माग छन् । माग सम्बोधन नभए मंगलबारबाट अनशन बस्ने कार्कीले बताए ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको स्मरण पत्र :

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0