नवलपरासी । नवलपरासी पश्चिममा चाइनिज लसुनको तस्करी बढेको छ । व्यपारीहरुले अवैध रूपमा चाइनिज लसुन साइकल, मोटरसाइकल र भरियामार्फत भारतमा निकासी गर्ने गरेको पाइएको हो ।

यस्तो कार्यमा संलग्नहरूले सीमावर्ती गाउँ बसैया, धर्माैली, हर्कपुरा, भुजहवाँ, गोपालपुर, गर्मी लगायतको क्षेत्रमा फर्म खोलेर गोदाम समेत सञ्चालन गर्दै आएको एक स्थायीले बताए ।

यसैबिच तस्करी बढेको गुनासोपछि भदौ २३ गते राती नेपाल प्रहरी र सशस्त्र प्रहरीले बसैया गाउँको ४ वटा गोदाममा छापा मारेर ५४१ बोरा चाइनिज लसुन नियन्त्रणमा लिएको थियो । सो क्रममा स्थानीय तस्कर र प्रहरी बिच भनाभन र माल खोसाखोस समेत भएको थियो । प्रहरीले ती गोदामहरू आफ्नो कब्जामा लिएपछि सोको बिल भरपाई र कागज पत्रहरू अनुसन्धानका लागि हिजो सोमबार बिहान आएको राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीलाई सुम्पेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

जसमध्ये प्रतापपुर गाउँपालिका ५ बसैयाको भैरमपुरटोलमा रहेको अनिषा ईण्टरप्राईजेजको लसुन खरिद गरिएको बिल भरपाई र कागजपत्रहरू अनुसन्धानका लागि लगिएको र सो विषयमा अनुसन्धान कार्य भइरहेको कार्यालयका सूचना अधिकारी मनोज कुमार सैनीले बताए । उनले गोदाममा भेटिएको २० किलोको ५१० बोरा र ३० किलोको ३१ बोरा गरी कुल ५४१ बोरा चाइनिज लहसुन कतैपनि ओसारपसान नगर्न फर्म सञ्चालकलाई निर्देशन दिई अनुसन्धान कार्य भइरहेको जानकारी दिए ।

चाइनिज लसुन नेपालमा प्रति किलो २७० रुपैयाँमा खरिद गरी भारतमा ३२० मा विक्री गर्दा प्रतिकिलो ५० रुपैयाँ मुनाफा हुने गरेको अवैध कारोबारमा संलग्नहरू बताउँछन् । सोही कारण नेपालबाट भारततर्फ तस्करी बढेको हो ।

जिल्लामा यस खालको तस्करी रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी आफ्नो मातहतका प्रहरी चौकी, बिओपी र इलाका प्रहरी कार्यालयहरूलाई कडा निर्देशन दिएको जनाएको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0