काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल वैशाखमा गर्ने तय भएको पहिलो महाधिवेशनको तयारीमा जुटेको छ । हाल निष्क्रिय जस्तै रहेको लोसपाले वैशाख २६ गतेका लागि महाधिवेशनको मिति तय गरेपछि पार्टीका नेताहरू अहिले सक्रिय भएका हुन् ।

लोसपाले महाधिवेशनको मिति तय भएसँगै विभिन्न बैठकहरू पनि आयोजना गर्न थालेको छ भने कात्तिक मसान्तसम्म सदस्यता वितरण अभियान सम्पन्न गर्ने निर्णय गरेको छ ।

यसैबिच, महाधिवेशन तयारीका लागि लोसपा नेपालको मधेस प्रदेश समितिले भदौ ३१ गते बैठक बोलाएको छ । सो बैठकमा महाधिवेशन केन्द्रित छलफल हुने बताइएको छ ।

यस्तै पार्टीले महाधिवेशन तयारीका लागि विभिन्न समितिहरू बनाउने समेत तयारी गरेको छ । त्यसका लागि अध्यक्ष महन्थ ठाकुरले शीर्ष नेताहरूको बैठक समेत बोलाउन लागेको सो पार्टीका महासचिव मनिष मिश्रले बताए । महाधिवेशनअघि नै पार्टीलाई सुदृढीकरण गर्ने गरी कामकाजलाई अगाडि बढाउने गरी समितिहरू गठन गर्ने तयारी रहेको उनले बताए ।

पार्टीमा केन्द्रीय समितिका साथै कार्यकारिणी समिति छन् भने केही भ्रातृ संगठन रहेका छन् । त्यसबाहेक पार्टीमा अरू कुनै पनि संगठनहरु छैनन् । अब पार्टीले महाधिवेशनभन्दा पहिले सबै कमिटीहरू बनाउने तयारी गरेको उनको भनाइ छ ।

लोसपाका ३१ वटा भातृ तथा शुभेच्छुक संगठन रहेका छन् । त्यसमध्ये हालसम्म लोकतान्त्रिक विद्यार्थी संघ र लोकतान्त्रिक प्राध्यापक संघलाई मात्र पूर्णता दिइएको छ । अरू संगठनको बारेमा गृहकार्य भइरहेको छ ।

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरले २०७८ भदौमा लोसपा नेपाल गठन गरेका थिए । लोसपा नेपालको अन्तरिम विधान अनुसार पाँच वर्ष महाधिवेशन गर्ने गरिसक्नु पर्ने उल्लेख छ । सोही विधान अनुसार महाधिवेशनको तयारीमा लोसपा लागेको छ ।

लोसपा गठन भएको लामो समयपछि केन्द्रीय समिति २०८० असोजमा सार्वजनिक गरिएको थियो । पार्टी गठनको दुई वर्षपछि केन्द्रीय समिति सार्वजनिक भए पनि त्यो विवादरहित रहेन ।

सो केन्द्रीय समितिबाट असन्तुष्ट भएर राजेन्द्र महतो लोसपाबाट अलग भए भने अनिल झालगायतका नेताहरू पनि असन्तुष्ट थिए । लोसपाका वरिष्ठ नेता झा अहिले भने पार्टीका बैठकहरूमा आउन थालेका छन् ।

३११ सदस्यीय कार्य समितिमा ६४ जना पदाधिकारी नै रहेका छन् । ६४ जना पदाधिकारीसहितको केन्द्रीय समिति बनाएको झण्डै एक वर्ष हुन लागेको छ तर हालसम्म त्यसको कार्य विभाजन नहुँदा नेताहरू अन्योलमा देखिएका छन् । शीर्ष नेताहरूको बैठकले कार्यविभाजन पनि गर्ने बताइएको छ ।

महन्थ ठाकुर तमलोपा, राजपा, जसपा हुँदै अहिले लोसपाका अध्यक्ष रहेका हुन् । तमलोपा हुँदै विभिन्न दलसँग एकीकरण गर्दै भत्काउँदै लोसपासम्म पुगेका ठाकुर पार्टीमा सदाबहार अध्यक्ष जस्तै भएका छन् । अब आउने महाधिवेशनमा पनि उनलाई टक्कर दिने कोही पनि नदेखिएको नेताहरूको भनाइ छ ।

२०७१ मा नवलपरासीमा भएको महाधिवेशनबाट ठाकुर नै अध्यक्ष भएका थिए । त्यस यता पार्टीको महाधिवेशन भएको छैन ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0