काठमाडौँ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक हालसम्म बस्न सकेको छैन ।

सभामुख देवराज घिमिरेले हिंसा शब्दमा दिएको रुलिङ नमान्ने अडानबाट प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र पछाडि नहट्ने बताएको छ । सोही कारण बैठक बस्न नसकेको हो ।

संघीय संसद् सचिवालयका अनुसार सदन चलाउने विषयमा सभामुख देवराज घिमिरेले उपसभामुखसहित दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

‘छलफलमा विषय मिलेन भने सूचना टाँस गरेर बैठक स्थगन हुन सक्छ‚’ सचिवालयले भन्यो ।

आइतबार बिहान सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा पनि विषय मिल्न सकेको थिएन । त्यसपश्चात् बसेको माओवादीको अनौपचारिक बैठकले सदन अवरोध गर्ने निर्णय गरेको थियो ।

भदौ १२ मा बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेका थिए । त्यस विषय रेकर्डबाट हटाउनुपर्ने माओवादीको माग थियो ।

तर‚ सभामुखले हिंसा शब्द नहटाउने रुलिङ बिहीबार गरेपछि माओवादी आक्रोशित हुँदै सभामुखको रुलिङ नमान्ने अडान लिएको छ ।

प्रतिनिधि सभा बैठक सञ्चालन नियमावली अनुसार निर्धारित समयको दुई घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगन गरी अर्को बैठकको सूचना गर्नुपर्ने व्यवस्था छ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0