३० भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ५०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६३७ अंकमा कायम भयो ।

आज बजार खुलेको २५ मिनेटमै नेप्से परिसूचक २७३४ अंकसम्म पुगेको थियो । जुन इन्ट्राडे कारोबारको उच्चतम अंक हो । दिउँसो २ : ०५ बजेपछि भने बजारमा बिक्री चाप उच्च हुँदा गिरावट तीव्र देखियो । २ : ०५ बजेसम्म बजार २६९५ अंकमा हरियो थियो । त्यसपछि ओर्लिएको बजार २६३७ अंकमा झर्‍यो । यसले अन्तिम एक घण्टामा बिक्रेता हाबी भएको देखाउँछ ।

बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ८ अर्ब १६ करोडको कारोबार भएकोमा आज १० अर्ब ३३ करोडको भएको छ । कुल २४ कम्पनीको मूल्य बढ्दा २१९ को घट्यो भने एकको स्थिर रह्यो ।

सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ०.९३, विकमास बैंक २.५१, फाइनान्स ३.५३, होटल तथा पर्यटन ३.६८, हाइड्रोपावर १.४८, लगानी २.८०, जीवन बीमा २.७४, उत्पादन १.७९, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा २.१६, अन्य २.२३ र व्यापार ०.९० प्रतिशत घटे ।

बजार घट्दा पनि रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी तथा इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो भने ग्रीनलाइफ हाइड्रोपावरको ९.४, सीईडीबी हाइड्रोपावरको ९.१५, इमर्जिङ नेपालको ७.१२ र नेपाल वेयरहाउजिङको ७.१० प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, अपी पावर तथा सिंगटी हाइड्रो इनर्जी क्रमशः अगाडि रहे ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0