४ असोज, काठमाडौं । गारेखा मिडिया नेटवर्कको बैंक खातामा विभिन्न पाँच सहकारी संस्थाका नामबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सिधै रकम जम्मा भएको पाइएको छ ।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार विभिन्न पाँच सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ पैसा आएको हो ।

जसमध्ये २२ करोड ४६ लाख रुपैयाँ सहकारी संस्थाबाट सिधै गोरखा मिडिया नेटवर्कको खातामा सहकारीको नामबाट नै रकम जम्मा भएको पाइएको हो ।

यस्तै करिब ४३ करोड ७ लाख रुपैयाँ भने अन्य व्यक्ति तथा संस्थाको नाम खडा गरी गोरखा मिडिया नेटवर्कमा ल्याएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

‘सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत कम्पनीहरूमा रकम प्रवाह भएको देखिन्छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, सुप्रिम बचत तथा ऋण सहकारी संस्था, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट जम्मा ६५ करोड ५४ लाख ८ हजार रकम गोरखा मिडिया नेटवर्क प्रालिमा प्रवाह भएको देखिन्छ,’ प्रतिवेदनमा छ, ‘उक्त रकम कम्पनीलाई सापटी, ऋण र कतिपय रकम सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र केही रकम कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो ।’

यो पनि पढ्नुहोस
गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने नै संलग्न देखिए : समिति
यसरी विभिन्न प्रक्रियाबाट सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याइएको देखिएको प्रतिवेदनमा उल्लेख छ । सहकारी ऐनले सेयर समस्या बाहेकसँग बचत तथा ऋण कारोबार नै गर्न नपाउने व्यवस्था गरेको छ ।

ऐनले सहकारी संस्थामा कुनै पनि कम्पनीलाई सेयर सदस्य हुनै रोक लगाएकाले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट सिधै रकम जम्मा हुनुसमेत ऐन विपरीत हो ।

‘सहकारीको बचत रकम सदस्य बाहेकमा कारोबार हुने वा रकम प्रवाह हुने परिकल्पना कानुनतः गरेको देखिँदैन,’ प्रतिवेदनमा छ, ‘कानुनको एउटा मान्य सिद्धान्त कानुनको अनभिज्ञता क्षम्य हुँदैन । तसर्थ, सहकारीबाट कुनै पनि कम्पनी वा गोरखा मिडिया नेटवर्क प्रालिमा सिधा रकम प्रवाह हुनु गैरकानुनी हो ।’

यो पनि पढ्नुहोस
गोर्खा मिडियाका सञ्चालकहरुले शक्तिको गलत उपयोग गरे : सहकारी छानबिन समिति
सहकारी संस्थाबाट प्रवाह भए बमोजिम नै गोरखा मिडिया नेटवर्कको खातामा जम्मा भएको रकमलाई गोरखा मिडिया नेटवर्कको लेखापरीक्षण प्रतिवेदनले भने सहकारीबाट आएको रकमका रूपमा स्वीकार गरेको नदेखिएको हो ।

लेखापरीक्षण प्रतिवेदनले उक्त रकम गितेन्द्रबाबु (जीबी) राईले छोटो अवधिका लागि दिएको निब्र्याजी सापटीका रूपमा उल्लेख गरेको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0