६ असोज, काठमाडौं । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । हालसम्मको नतिजामा वामपन्थी नेता अनुरा दिसानायकेले सानदार अग्रता लिएका छन् ।

श्रीलंकाको निर्वाचन आयोगको आँकडाअनुसार १० लाख भोट गणना भइसक्दा दिसानायकेले ५० प्रतिशत मत पाएका छन् । राष्ट्रपति निर्वाचित हुन ५१ प्रतिशत मत ल्याए पुग्छ ।

दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनको उम्मेदवार हुन् । यो गठबन्धनमा उनको पिपुल्स लिवरेसन फ्रन्ट पार्टी (जेभीपी) पनि सामेल छ ।

दिसानायकेपछि साजिथ प्रेमदासाको पार्टी २० प्रतिशत मतसहित दोस्रो स्थानमा र वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे १८ प्रतिशत भोटसहित तेस्रो स्थानमा छन् । पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेले केबल १ प्रतिशत मत पाएका छन् ।
श्रीलंकाको राष्ट्रपति पदका लागि ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो । बीबीसीका अनुसार निर्वाचनमा ७० प्रतिशत मतदान भएको छ ।

मतदान सकिएलगत्तै देशभर कर्फ्यु लगाइएको छ । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि मतगणनाको क्रममा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गरी कर्फ्यु लगाइएको सरकारी अधिकारीहरुले बताएका छन् ।

श्रीलंकामा दुई वर्ष अगाडि आर्थिक अवस्था बिग्रिएपछि विरोध प्रदर्शन भएको थियो । त्यसपछि पहिलोपटक नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो । यस चुनावलाई देशको अर्थव्यवस्था सम्हाल्ने सरकारको जनमतसंग्रहको रुपमा हेरिएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0