काठमाडौँ । सांसदहरूले जनगणनामा कोही पनि नछुटुन भन्नेकुरामा सचेत हुन सरकारलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद जावेदा खातुन जागा, नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले जनगणनालाई तथ्यपरक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस सांसद खातुनले जनगणनामा कोही पनि नछुटुन् भन्ने कुरामा सरकार गम्भीर नबन्दा धेरै नागरिकहरूले आफ्नो उपस्थिति राज्यमा देखाउन सक्ने अवस्था नभएको बताइन् । उनले मुस्लिम समुदायको समेत गणना तथ्यपरक नभएको जिकिर गर्दै त्यसतर्फ सरकारलाई ध्यान दिन पनि आग्रह गरिन् । जनगणना तथ्यपरक नहुँदा पछाडि परेका विभिन्न जाति र समुदायका नागरिकहरूले राज्यले दिने अवसरबाट समेत वञ्चित हुनुपरेको सांसद खातुनको भनाई थियो ।

उनले भनिन्, ‘ यस्तो समुदायहरू छन् जो राज्यको मूल प्रवाहीकरणमा आउन सकिरहेका छैनन् । उनीहरूको तथ्यांक ल्याउनुपर्‍यो । उनीहरूको जनगणना छुटाउनु हुन्न । यौनिक अल्पसंख्यक जन समुदाय अझै पनि लुकेर बसेको अवस्था छ । उनीहरुले राज्यको कुनैपनि सेवा सुविधा पाइराखेको अवस्था छैन ।’

एमालेका सांसद रिजालले विपदमा परेका बस्तीहरूको तथ्यांक ल्याउन सरकारलाई दबाब दिए । उनले जलवायु परिवर्तनका कारण बस्तीमा जोखिममा पर्ने गरेकाले उनीहरूको सुरक्षाका लागि पनि सरकारले ती ठाउँहरूको गणना गर्न ढिलाइ गर्न नहुने बताए ।

सांसद रिजालले नागरिकको पहिचान गर्ने र उनीहरूको आवश्यकतालाई सम्बोधन गर्ने नीति, कार्यक्रम र बजेट तय गर्न पनि जनगणनालाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘कति ठाउँ असुरक्षित बस्ती छ पहाड र हिमालहरूमा ? मान्छेलाई बस्न रहर हुँदाहुँदै उसले आफ्नो गाउँ छाड्नुपरेको छ । अर्कोको गाउँमा गएर बस्नुपर्ने अवस्था छ । पहाड छोड्यो, सहर आयो । सहर पनि बस्न नसक्ने भएपछि विदेशतिर जानुपर्ने अवस्था छ । यस्तो खालको अवस्थामा अलि बढी ध्यान दिनुपर्‍यो ।’

सांसद रिजालले विभिन्न सीप, कला जानेहरूलाई पनि साक्षरता भनेर दर्ज गर्न पनि सरकारलाई सुझाव दिए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0