काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुनः आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदी बिच यहाँको टोते न्युयोर्क प्यालेसमा भएको साइडलाइन वार्तामा सो आग्रह गरिएको हो ।

सो आग्रहपछि प्रधानमन्त्री मोदीले आफू नेपालको भ्रमण चाँडै गर्ने मनस्थितिमा रहेको धारणा राखेको भेटवार्तामा सहभागी एक अधिकारीले बताए । भेटपछि अमेरिकामा नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतका प्रधानमन्त्री मोदी नेपालको भ्रमण चाँडै गर्ने कुराकानी भएको जानकारी दिइन् ।

प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीसँगको भेटघाट राम्रो भएको बताउँदै नेपाल–भारतको मित्रता धेरै बलियो र त्यसलाई अझै गति दिन चाहेको उल्लेख गरेका छन् । भेटपछि आफ्नो एक्समा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँग ऊर्जा, प्रविधि र व्यापार जस्ता विषयमा केन्द्रित रहेर कुराकानी भएको बताएका छन् ।

तर अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले उठाएका ईपीजी तथा सीमा समस्याका बारेमा त्यहाँ कुनै कुरा राखेनन् । बैठकमा सहभागी एक अधिकारीले भने, ‘यूएनको महासभामा आएका मौकामा भएको साइडलाइन वार्तामा यस्ता इस्युमा कुरा हुँदैन, यी विषयमा कसैले कुरा राखेन । दुई देशको सम्बन्ध, व्यापार तथा कनेक्टिभिटीको बारेमा कुराकानी भएको हो, दुई देशका बिचमा रहेको विभिन्न संयन्त्रणहरुलाई सक्रिय बनाएर अगाडि बढ्ने कुराकानी भएको छ ।’

यस्ता उच्च स्तरीय भेटवार्तालाई निरन्तरता दिने र चाँडै नै दुई देशको प्रधानमन्त्रीले एक अर्काको देश भ्रमण गर्ने वातावरण तयार भएको ती अधिकारीले बताए ।

पाँचौँ पटक प्रधानमन्त्री बनेका ओलीको प्रधानमन्त्री मोदीसँग यो तेस्रो भेटघाट हो । यसअघि दुई पटक प्रधानमन्त्री भएकै बेला भारत भ्रमण गरेर भेटघाट गरेको थियो ।

त्यसपछि छोटो समयका लागि बनेको प्रधानमन्त्री कार्यकालमा भारत भ्रमण भएको थियो । यो साइडलाइन वार्ता यसअघि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनको समयमा थाइल्यान्डमा हुने तय थियो । तर त्यहाँको राजनीतिक अवस्थाका कारण बैठक स्थगित भएपछि भेटघाट हुन पाएको थिएन ।

अमेरिकाको भेटवार्ता पनि अन्तिम समयमा आएर तय भएको हो । यो भेटवार्ताले दुई देश बिचको सम्बन्ध र ओली–मोदी बिचको सम्बन्धमा पनि सुधार आएको अपेक्षा गरिएको छ । चाँडै नै दुई देशबिच उच्च स्तरीय भ्रमण हुने बताइएको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0