७ असोज, काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिशानायकेले शपथ लिएका छन् ।

शनिबार भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए । श्रीलंकाका नवौं राष्ट्रपतिका रुपमा उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कोलम्बोबाट करिब १७७ मिलोमिटर टाढा थम्बुथेगामा भन्ने स्थानमा ग्रामीण मध्यम वर्गीय परिवारमा जम्मिएका दिशानायकेले विज्ञान विषयमा डिग्री हासिल गरेका छन् । उनी स्कुले जीवनबाट जेभीपी (जनता विमुक्ति पेरामुना) मा आबद्ध भएका थिए ।

शपथपछि देशबासीलाई सम्बोधन गर्दै राष्ट्रपति दिशानायकेले सत्ता हस्तान्तरणका क्रममा सराहनीय उदाहरण स्थापित गरेकोमा निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेप्रति अभार व्यक्त गरे । साथै आफ्नो कार्यकालमा लोकतान्त्रिक मूल्य मान्यता कायम राख्ने प्रतिबद्धता समेत जनाएका छन् ।

श्रीलंकाका राजनेता र राजनीतिबारे व्यापक नकारात्मक धारणा रहेको भन्दै उनले नेता र राजनीतिक व्यवस्थाप्रति सम्मान र विश्वास फर्काउन आवश्यक सबै कदम चाल्ने बताएका छन् ।

‘हाम्रोसामु जुन गहिरो संकट छ, यो कुनै एउटा सरकार, पार्टी वा व्यक्तिले अन्त्य गर्न सक्दैन’, राष्ट्रपति निशानायकेले भनेका छन्, ‘मैलै पहिले पनि भनेको छु, म कुनै जादुगर होइन । म यो देशमा जन्मिएको एक आम मानिस हुँ ।’

संकट समाधानका लागि समूहिक प्रयासमा जोड दिएका उनले भने, ‘मेरो प्राथमिकता सबै प्रतिभाको आत्मसाथ गर्ने, ज्ञान एकीकृत गर्ने र राज्य सञ्चालनमा राम्रो निर्णय गर्ने हुनेछ ।’

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0