काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक ग्रेड वृद्धि परीक्षा (मौका परीक्षा) मा ९० हजार विद्यार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको मौका परीक्षाको नतिजा अनुसार ९० हजार ८९६ विद्यार्थी फेल भएका हुन् ।

गत साउन २३ देखि ३१ गतेसम्म लिइएको ग्रेड वृद्धि परीक्षामा दुई लाख १० हजार ३२१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये एक लाख १९ हजार ४२५ विद्यार्थीले मात्रै ग्रेड प्राप्त गरेका छन् । अर्थात ५६.७८ प्रतिशत विद्यार्थी पास भएका छन् ।

गत चैतमा लिइएको परीक्षामा दुई लाख २२ हजार ४७२ जना विद्यार्थीले ग्रेड प्राप्त गरेका थिए । त्यसपछि साउनमा लिएको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार ४२५ विद्यार्थीले ग्रेड प्राप्त गरेका थिए । गत वर्षको एसईईमा तीन लाख ४१ हजार ८९७ विद्यार्थी कक्षा ११ पढ्न योग्य भएका छन् । पूरकको एनजीसहित एक लाख २२ हजार ८८८ विद्यार्थी ११ पढ्न अयोग्य भएका हुन् ।

परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये नियमित र ग्रेड वृद्धि समेत तीन लाख ४१ हजार आठ सय ९७ विद्यार्थी मात्रै ग्रेडेड (पास) भएका छन् । चैतमा लिएको परीक्षामा दुई लाख २२ हजार र साउनमा लिएको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार गरी तीन लाख ४१ हजार आठ सय ९७ विद्यार्थी ग्रेडेड (पास) भएका हुन् । एक लाख २२ हजार आठ सय ८८ विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् ।

एसईईको नतिजा सार्वजनिक भएपछि दुई विषयसम्ममा एनजी आएका विद्यार्थीलाई मौका परीक्षाको अवसर प्रदान गर्ने भनिएको थियो । तर, तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सातै विषयमा एनजी आएका तथा परीक्षामा अनुपस्थित भएका विद्यार्थीलाई समेत मौका परीक्षा दिन पाउने निर्णय गरेकी थिइन् ।

लेटर ग्रेडिङ निर्देशिका संशोधन गरेर सातै विषयमा फेल भएका र नियमित परीक्षा नदिएर अनुपस्थित भएका विद्यार्थीलाई समेत मौका परीक्षाको अवसर प्रदान गरेकी थिइन् ।

उक्त निर्णयपछि दुई लाख ४१ हजार ८०४ विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने थिए । तर, दुई लाख १० हजार ३२१ विद्यार्थीले मात्रै मौका परीक्षा दिएको बोर्डले जनाएको छ । ३१ हजार ४८३ विद्यार्थीले मौका परीक्षा दिएका थिएनन् ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0