काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरू अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौँमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पूर्वअर्थमन्त्री खतिवडाले अहिले विकासको परिभाषा नै परिवर्तित भइसकेको भन्दै आर्थिक वृद्धिलाई मात्रै विकास भन्न नमिल्ने तर्क गरे । उनले अहिले दिगो विकास र दिगो विकासको सामाजिक र आर्थिक पक्ष तथा वातावरणीय पक्ष समेत विकासको परिभाषासँग जोडिएको बताए । उनले समृद्धिको बाटो अलि लामो रहेकाले सही बाटोमा हिँडिरहेका छौँ कि छैनौँ भनेर सोच्नुपर्ने बताए । उनले प्रस्थान बिन्दु नै गलत भएको खण्डमा लक्ष्यसम्म नपुगिने भन्दै समृद्धिको मार्गमा जानका लागि कतिपय नीतिहरू मिलाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले भने, ‘हाम्रा आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरू अपर्याप्त छन् । भएका नीतिहरूले हामीले खोजेको परिणाम दिने अवस्थामा हामी छैनौँ । केही नीतिहरू आपसमा बाझिन्छन् र जसले गर्दा हामी शून्यमा पुग्छौँ । कतिपय नीतिहरू बाझिँदा हामी शून्यमै त झरेका छैनौँ ? त्यसकारण ति नीतिहरू सच्याउनु पर्छ । अलिकति पुनर्लेखन गर्नुपर्छ । समृद्धिको सन्दर्भमा हामी केही कुरामा स्पष्ट हुनुपर्छ ।’

पूर्वअर्थमन्त्री खतिवडाले विषादी र रासायनिक मलको कम प्रयोग गरी उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको बताए । उनले भौतिक र सामाजिक विकाससँगै कृषि, सिँचाइमा जोड दिनुपर्ने बताए । उनले डिजिटल इकोनोमी आजको आवश्यकता रहेको भन्दै यसले विद्युतीय अर्थतन्त्र विकासमा मद्दत पुग्ने बताए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0