१० असोज, काठमाडौं । यातना दिएको आरोपमा पक्राउ परेका आशिष देउलामाथिको अनुसन्धान प्रहरीले टुंग्याएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ घर भएका देउलासहित चार जनामाथि अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाएको छ । परिसरको मुद्दा शाखाका प्रमुख डीएसपी हरि खतिवडाका अनुसार बिहीबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको हो ।

उनका अनुसार देउलासहित टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाईघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङलाई ज्यान मार्ने उद्योग र शरीर बन्धकको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ ।

घरमा बन्धक बनाएर यातना दिएको, शरीर बन्धक र ज्यान नै जानेगरी चरम यातना दिइएकाले दुईवटा कसुरमा मुद्दा चल्नुपर्ने राय प्रहरीको छ ।

प्रहरीको प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने छ । उनीहरु चारै जनालाई परिसरको टोलीले १८ भदौमा बुढानिलकण्ठस्थित देउलाको घरबाट पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध दुई युवकले जाहेरी दिएका छन् । उनीबाट एक युवतीसमेत पीडित भएको खुलेको थियो । तर आफू काठमाडौं बाहिर रहेको भन्दै उनले जाहेरी दिइनन् । देउला छुटेको अवस्थामा झन् यातना दिनसक्ने भन्दै ती युवतीले डरले जाहेरी नदिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

जाहेरी नदिएकी ती युवती एक युवकलाई देउलाले एकै दिन वैशाखमा काठमाडौंको क्षेत्रपाटीबाट गाडीमा राखेर बुढानीलकण्ठस्थित आफ्नो घरमा लगेका थिए । पानीको पाइप जोड्ने पनिउँ तताएर शरीरको पछाडिएको भागमा उनीहरुलाई डामिएको आरोप देउलामाथि छ ।

त्यसैगरी अर्का एक युवालाई लगनटोलस्थित एक घरमा लगेर यातना दिएको आरोप देउलासहित पक्राउ परेका चारै जनामाथि छ ।

देउलाले नाइट क्लबमा जाँदा नकाव लगाउँथे । तालु खुइलिएको, अनुहार चाउरिएको वृद्ध पुरुष देखिने नकाव लगाएर रोमान्स गर्थे ।

उनले युवतीसँग रोमान्स गरेका भिडिओ र तस्वीरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने गरेका थिए । यस्तो रोमान्स गर्ने बेलामा अरुले नचिनुन् भनेर उनले नकाव लगाउँथे । नाइट क्लब लगेर रमाइलो गराएका व्यक्तिलाई नै देउलाले चरम यातना दिने गरेको आरोप लागेको छ । पीडितहरु देउलाका पूर्वचिनजानका व्यक्ति हुन् ।

क्रूर बनेर बिना कारण निर्दोष व्यक्तिलाई यातना दिएकाले उनी मानसिक रुपमा पूर्ण ठीक नभएको प्रहरी अधिकारीहरु बताउँछन् । उनीमा देखिएको संकेत स्याडिस्ट (परपीडक) भएको हुनसक्ने आशंका प्रहरीको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0