काठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी प्रहरीको हिरासतमा छन् । असोज ६ मा उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले जोशीसँग सुर्यदर्शनको निक्षेप गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेकोबारे लामो बयान लिएका छन् । जोशीसँग ३६ पेज लामो बयान लिइएको अनुसन्धानमा संलग्न कास्कीका एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

बयानमा जोशीले आफ्नो डिफेन्स गरेका छन् । सहकारीको रकम गितेन्द्रबावु (जीवी) राईले गोर्खा मिडियामा ल्याएको जोशीले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘सहकारीबाट ल्याएको रकम मैले एक रुपैयाँ पनि खर्च गरिनँ ।’

सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीवी, पूर्वगृहमन्त्री रवि लामिछाने र जोशी मिलेर गोर्खा मिडिया नेटवर्क स्थापना गरेका थिए । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

जोशी रवि लामिछानेबारे मौन देखिएका छन् । अनुसन्धान अधिकृतहरूले ‘रकम खर्च गर्ने व्यक्ति’ बारे सोधेको प्रश्नमा उनले भनेका छन्, ‘खर्च गर्नेको रेकर्ड त्यहीँ होला ।’ लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । लामिछानेले हस्ताक्षर गरेर उपकरण खरिद र कर्मचारीलाई तलब दिएको छानबिनबाट देखिएको छ ।

अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘उहाँ (जोशी)ले रकम अपचलनमा रवि संलग्न भएको बारेमा सिधा भन्नुभएको छैन, कागजात हेर्दा थाहा हुन्छ भन्नुभएको छ ।’

जीवी केन्द्रित बयान दिएका जोशीले भनेका छन्, ‘मैले पहिले नै गोर्खा मिडिया छाडेको हुँ, रकम अपचलनमा मेरो संलग्नता छैन ।’

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0