२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलहरुको साथ खोजेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकमा सभापति लामिछानेले प्रहरी पक्राउविरुद्ध उभिन प्रस्ताव गरेका हुन् ।

‘सरकारले फसाउने नियत लियो । मलाई मात्र होइन, भोलि जोसुकैलाई पक्राउ गर्न सक्छ’ लामिछानेले भनेका थिए । आफूलाई जस्तै समस्या भोलि जोसुकैलाई आइपर्ने उनको तर्क थियो ।

‘मलाई पक्राउ गर्न सक्छ भन्ने संकेत मैले पनि पाएको छु । यसमा सबैले साथ दिनुपर्यो भन्ने रविको निवेदन थियो’, बैठकमा सहभागी एक नेताले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी रहेको ब्रिफिङ गरेका थिए । बिहीबार मात्र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्डले भेटवार्ता गरेका थिए ।

उक्त भेटवार्ताका आधारमा प्रचण्डले रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका थिए । प्रचण्डको ब्रिफिङमा सहमत लामिछानेले पक्राउ परिने संभावनाबारे जानकारी रहेको बताउँदै विपक्षीहरुको साथ मागेका थिए ।

बैठकमा सहभागी ती नेताका अनुसार बैठकले रवि लामिछानेको विषयमा कुनै निष्कर्ष भने निकालेन । ‘प्रचण्ड र रवि लामिछानेले कुरा राख्नुभयो, तर अरु नेताहरुले केही बोल्नुभएन । बैठक त्यसै सकियो’, ती नेताले भने ।

यो बैठकमा रास्वपाबाट ६ जना नेता सहभागी थिए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0