काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरूले उठाउँदै आएको माघ अझै पुरा नभएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको विपक्षी दलको बैठकमा अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन् ।

पार्टीका महासचिव डा.सुरेन्द्र झाका अनुसार अध्यक्ष ठाकुरले बैठकमा भने, ‘तपाईं हामी सबै एकसाथ सङ्घर्ष गरेको होइन, जेलनेल एकसाथ भोगेको होइन तर तपाईंहरुको सबै माग पुरा भयो, सबै इच्छा पुरा भयो, हाम्रो खोइ ?’

आफूहरू अझै पीडित रहेको धारणा राख्दै उनले मधेस आन्दोलन गरेका नेताहरू अझै जेलमा रहेका र चार जनाले आजीवन जेल जीवन बिताइरहेको उनले बताए । यो विषयमा सबै गम्भीर हुनुपर्ने धारणा उनले राखेका थिए ।

उनले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने पक्षमा आफू नरहेको धारणा राखेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष ठाकुरले पटक–पटक आफ्नो दल विभाजन हुने गरेकोले आफू पीडित रहेको बताएका थिए । अध्यादेश आउँदा साना दलहरू विभाजन हुने गरेको अनुभव सुनाउँदै उनले अध्यादेशका विषयमा प्रतिपक्ष दलको एजेन्डामा आफ्नो समर्थन रहेको तर सत्तामा भएकाले आधिकारिक हस्ताक्षर गर्न नमिल्ने कुरा राखेका थिए ।

अध्यक्ष प्रचण्डले पनि सरकारलाई बुझाउने ज्ञापन पत्रमा लोसपाको नाम नराख्ने भनेका थिए । उनले प्राकृतिक विपद् जस्तो समस्यामा सबै दल एक ठाउँमा आएर कार्य गर्नुपर्ने भन्दै आफू सत्ता पक्षको भए पनि जनसरोकारका विषयमा सबैको साथ रहने धारणा राखेका थिए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0