४ कात्तिक, विराटनगर । अनलाइन जुवा खेलाउनेसँग मिलेमतो गरी आर्थिक लेनदेन गरेको आरोपमा कोशी प्रदेश प्रहरी कार्यालयले मोरङमा कार्यरत प्रहरी निरीक्षक नवराज कार्कीसहित चार जनालाई तानेर छानबिन सुरु गरेको छ ।

अनलाइन जुवा कारोबारीसँग लेनदेन गरेको भेटिएपछि बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउत प्रदेश प्रहरी कार्यालय तानिएका हुन् ।

सोही घटनामा जोडिएपछि मोरङ प्रहरी प्रमुख नवराज कार्की शुक्रबार हेडक्वाटर तानिएका थिए । प्रदेश कार्यालयले लेनदेनमा जोडिएका थप प्रहरीमाथि पनि छानबिन सुरु गरेको छ । प्रदेशमा तानिएका प्रहरी मोरङका घुमुवा प्रहरी (सादा पोसाकमा खटिने) हुन् ।

प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार अनलाइन जुवा कारोबारीसँग लेनदेन गरेको रंगेहात भेटिएपछि ४ प्रहरी तानिएका हुन् । सोही घटनाका कारण एसपी कार्की हेडक्वाटर तानिएका हुन् ।

विराटनगरमै भएको घटनाको आन्तरिक छानबिनका लागि प्रदेशमा तानिएको प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले बताए । ‘केही न केही अनियमितताको सूचनापछि छानबिन भइरहेको छ,’ उनले भने, ‘बिना तथ्य केही गर्न भएन, तथ्यका आधारमा छानबिन भइरहेको छ ।’

प्रहरी उपरीक्षक नवराज कार्कीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने बताउँदै उनले अन्य प्रहरीमाथि कोशी प्रदेशबाट छानविन भइरहेको बताए । अनलाइन कारोबारका विषयमा मोरङको टोलीले लेनदेन गर्दै गरेको सूचना पुगेपछि प्रदेश प्रहरी कार्यालयले छानविन गरेको थियो ।

सो छानविनका क्रममा प्रदेश तानिएका प्रहरीले लेनदेन गरेको देखिएको थियो । तर यो घटनालाई प्रदेश प्रहरीले गुपचुप राख्न खोजेको छ । प्रदेश प्रहरी स्रोतका अनुसार कारोबारी र प्रहरीबीच २५ लाख रुपैयाँ लेनदेन भएको देखिएको थियो । जिल्लाको टोलीले रकम लिएको विषयमा प्रदेशले आन्तरिक छानविन सुरु गरेपछि रकम लिनेले सो रकम फिर्ता गरेको स्रोतको दाबी छ ।

प्रदेश प्रहरी प्रमुख खापुङले भने रकम लेनदेन गरेको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले अनियमितताको सूचनाका आधारमा छानबिन चलिरहेको बताउँदै थप विषय खुलाउन चाहेनन् । आन्तरिक छानबिन गरिरहेको प्रदेश प्रहरीले अनलाइन जुवा खेलाउने गिरोहलाई भने पक्राउ गरेको छैन ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले मोरङको आन्तरिक विषयको छानबिन प्रदेश प्रहरीले गरिरहेको बताए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0