वासिङ्टन डीसी । इजरायलले इरानमाथि निकै ठुलो आक्रमणको तयारी गरिरहेको छ । अमेरिकाबाट चुहिएको दुई अति गोप्य दस्ताबेजहरूले यस्तो देखाएका हुन् । यी दस्ताबेजहरूमा इरानमा इजरायली आक्रमणको लागि सैन्य तयारीबारे उल्लेख छ ।

दस्ताबेज अमेरिकाको नेशनल जियोस्पेशियल इन्टेलिजेन्स एजेन्सीका हुन् । साे एजेन्सीले अमेरिकाको जासुसी उपग्रहहरूले खिचेका तस्बिर र जानकारीको विश्लेषण गर्ने गरेको छ । लिक भएका दस्ताबेजहरूमा इजरायली सैन्य अभ्यास र अपरेशनसम्बन्धी जानकारी समावेश छ ।

उत्कर्षमा छ इजरायल र इरानबिच तनाव

अमेरिकी मिडिया रिपोर्टकाअनुसार अक्टोबर १५ र १६ मा दुई कागजातहरू इरान समर्थक प्रयोगकर्ताहरूले टेलिग्राममा प्रसारित गरेका थिए । लिक भएको कागजातमा इजरायली सैन्य अभ्यासको विश्लेषण छ । यो अभ्यास इरानमाथि प्रतिकारात्मक आक्रमणको तयारी भएको देखिन्छ ।

उल्लेखनीय छ कि इजरायल र इरानबिच लामो समयदेखि तनाव बढ्दै गएको छ । केही समयअघि सिरियामा इजरायलले गरेको हमलामा इरानी सेनाका शीर्ष कमान्डरको मृत्यु भएपछि इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको थियो । साथै, विगतमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह इजरायली आक्रमणमा मारिएपछि इरानले पनि इजरायलमाथि मिसाइल आक्रमण गरेको थियो । इजरायलले इरानको आक्रमणको बदला लिने धम्की दिएको थियो ।

कागजातमा के छ ?

चुहिएका दस्तावेजमध्ये एउटाको शीर्षक ‘इजरायल हवाई बल इरानमाथि आक्रमणको तयारी गर्दैछ’ रहेको छ । यसमा हालैको इजरायली सैन्य अभ्यासको रूपरेखा दिइएको छ । दोस्रो दस्तावेजमा हतियार र अन्य सैन्य सम्पत्तिहरू रणनीतिक स्थानहरूमा सार्ने इजरायली प्रयास देखिन्छ । लिक भएका यी दस्ताबेजहरूले इजरायलले इरानमाथि ठुलो आक्रमणको तयारी गरिरहेको थाहा हुन्छ ।

अमेरिकी सरकारले सुरु गर्‍यो छानबिन

यी गुप्तचर दस्ताबेजहरू चुहावटले अमेरिकी सरकारमा कथित रूपमा हलचल मच्चाएको छ । अमेरिकी अधिकारीहरूले चुहावटको गम्भीरताप्रति सचेत भएका छन् । यसबारे अनुसन्धान गरिरहेका छन् ।

चुहावटको सही स्रोत अज्ञात छ, तर प्रारम्भिक सङ्केतहरूले कागजातहरू निम्न स्तरको अमेरिकी सरकारी कर्मचारीद्वारा चुहिएको हुन सक्ने देखाएको छ । यो सूचना कसरी चुहावट भयो र थप दस्ताबेज चुहिन सक्छन् कि भनेर रक्षा मन्त्रालय, अमेरिकी गुप्तचर एजेन्सीहरू र एफबीआई मिलेर अनुसन्धान गरिरहेका छन् ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0