४ कात्तिक, काठमाडौं। सुन्धारास्थित काठमाडौं मलमा पाकेटमारी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङको बेलबारी नगरपालिका–६ का २९ वर्षीय गोविन्द परियार, डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ३० वर्षीय सुरेश नेपाली, धादिङको निलकण्ठ नगरपालिका–५ का २६ वर्षीय निशान ढुंगाना, सोही ठाउँका ४१ वर्षीय गीता ढुंगाना, नुवाकोटको बिदुर नगरपालिका–५ का ४३ वर्षीय श्यामबहादुर सुुनार र मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ का २५ वर्षीय ओखरे भनिने सुरज श्रेष्ठ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार काठमाडौंका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । यो समूहले कीर्तिपुर बस्दै आएकी सीता पौडेलको गरगहना र मोबाइल काठमाडौं मलमा पाकेटमारी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

जिसीका अनुसार यो समूहले पौडेलको चार तोला सुनको गरगहना र मोबाइल गरी करिब ५ लाख रुपैयाँ बराबरको सामानहरु पाकेटमारीको गरेको थियो । ३० असोज साँझ ६ बजेतिर यो समूहले पाकेटमारी गरेको थियो ।

उनीहरुबाट स्वरुप परिवर्तन भएको अवस्थाको ३९.४४ ग्राम सुन, १ लाख २० हजार नगद र ६ थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0