काठमाडौँ । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली संयोजक रहेको हिन्दु राष्ट्र स्वभिमान जागरण अभियानले पशुपति क्षेत्र विकास कोषको बेथितिको बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई जानकारी गराएको छ ।

अभियानका पदाधिकारीहरू आज मन्त्री पाण्डेलाई भेटेर त्यहाँको बेथितिको बारेमा लिखित रूपमा जानकारी गराउँदै त्यसको समाधानका लागि आग्रह गरेको अभियानका महासचिव देवेश झाले बताए ।

पशुपति क्षेत्र विकास कोषको मातहतमा रहेको त्रिशूल/डमरु अकिंत जग्गालाई मदर टेरेसा ट्रस्ट अन्तर्गत पर्ने मिशनरी अफ च्यारिटी चर्च (मित्रपार्क), ज्ञानेश्वर चर्च (कालोपुल) सञ्चालन गर्न दिएको दाबी अभियानले गरेको छ ।

कालोपुलको ज्ञानेश्वर चर्चलाई स्थानीय हिन्दु समाजबाट सञ्चालन रोक लगाएको पछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट फेरि सञ्चालनमा ल्याएको जानकारी समेत मन्त्री पाण्डेलाई गराएको महसचिव झाले बताए ।

त्रिशूल/डमरु छाप अंकित गुठी क्षेत्र अन्तर्गत पर्ने विजयनगरमा मस्जिद सञ्चालन गर्न दिएको, भगवान् पशुपतिनाथ मन्दिरमा शिवलिंग अभिषेक भइरहेको देख्ने गरी फोटोग्राफ लिने गरी फ्रेन्डस् पार्क बनाई दिएको, सर्वोच्च अदालतबाट निषेध भए पनि पाशुपत क्षेत्रभित्र रहेको मृगस्थलीमा इसाईहरूलाई चिहान बनाउन दिएको दाबी पनि अभियानले पेस गरेको छ ।

पशुपति क्षेत्रभित्र सञ्चालित नन्दी/बाच्छा सेवा केन्द्रमा नै गौ माता र नन्दी लाई सद्गति गर्दा सोही दिन त्यही ठाउँमा माछा मासु खाने गरेको, इसाईहरूबाट बाइबल वितरण गर्ने कार्यभएको, वनकाली धर्मशाला लाई वर्षौंदेखि अलपत्र पारेर सञ्चालनमा नल्याएको जस्ता दाबी अभियान गर्दै मन्त्री पाण्डेलाई जानकारी गराएको छ ।

त्यस्तै, पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई सुविधा उपलब्ध गराउन भारत सरकारबाट तिलगंगामा निर्मित धर्मशालालाई होटलमा परिणत गरी भाडामा लगाएको गुनासो पनि अभियानले गरेको छ ।

अभियानले पशुपति क्षेत्र विकास कोषका विकृति र धर्म विरोधी क्रियाकलापका बिच पशुपति गौशाला धर्मशालालाई विघटन गराउने प्रयास भएको दाबी गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पाण्डेले मागहरूको बारे आफू गम्भीर रहेको छ । पशुपति गौशाला धर्मशालाको विवाद बारे अध्ययन गर्न एउटा समिति बनाउने आश्वासन दिएको अभियानका महासचिव झाले बताए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0