४ कात्तिक, सुर्खेत। भेरीगंगा उपत्यका आधुनिक शहर आयोजना कार्यालय भवनको शिलान्यास गरिएको छ। काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले आइतबार बिहान भवनको शिलान्यास गरेका हुन्।

आयोजनाको कार्यालय भवनको शिलान्यास गर्दै उपसभापति खड्काले स्रोतको सुनिश्चितता नहुनु, राजस्व नउठ्नु जस्ता समस्याले देशमा विकासको लहर ल्याउने जनप्रतिनिधिको सपना पूरा हुन नसकेको बताए ।

उनले नेपालमा परिकल्पना गरिएका ५० भन्दा बढी शहरमध्ये भेरीगंगा आधुनिक शहर सबैभन्दा ठूलो भूगोलमा भएकाले यसको विकासका लागि तीव्र गतिमा काम गर्न आयोजनालाई समेत आग्रह गरे।

‘सरकारले ऋण गरेर मुलुक चलाउनु परेको छ, यो अवस्थामा समयमै विकास गर्न सकिएको छैन,’ उनले भने, ‘निर्माणमा हुने ढिलाइले पुँजीगत खर्च दयनीय छ, आयोजनलाई समयमै सम्पन्न गर्न आग्रह छ।’

पछिल्लो समय निर्माणको प्रक्रियामा जाँदा शहरको आकार घटेकोले यसमा आयोजना कार्यालयले ध्यान दिनुपर्ने उनले बताए। अहिलेको पुस्ताले भावी पुस्तालाई दिने नासोका रूपमा भेरीगंगा आधुनिक शहर भएकाले निर्माणको गतिलाई तीव्रता दिनुपर्नेमा खड्काले जोड दिए।

उनले शहरी आयोजनासँग समन्वय नगरी जथाभाबी बाटो निर्माण नगर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरे । ‘नदीको किनारमा ठुला सडक खन्ने काम नगर्नुहोस्, बरु शहरी आयोजनासँग समन्वय गरेर हरियाली र सुन्दरता दिने काम गर्नुहोस्,’ खड्काले भने ।

नयाँ शहरभित्र सडक र अन्य पूर्वाधार कस्ता हुने भन्ने विषयमा प्रारम्भिक डिपीआर तयार भएकाले सोहीअनुसार अघि बढ्न स्थानीय तहका प्रमुखलाई खड्काले आग्रह गरे । शहरको गुरुयोजना बनाउन प्रक्रिया सुरु भएकाले अब बजेट जोहो गरेर काम सुरु हुने आश्वासन समेत उनले दिए ।

सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने भेरीगंगा, लेकबेँसी र गुर्भाकोट नगरपालिकाका सबै वडा समावेश गरी भेरीगंगा उपत्यका आधुनिक शहर बनाइने छ । हाल फाटफुट बजार र छरिएका बस्तीहरू रहेको उपत्यकालाई आधुनिक शहरका रूपमा विकास गर्न नयाँ शहर आयोजना कार्यालय र संघीय आयोजना कार्यान्वयन इकाइले काम थालेका छन् ।

अहिले यस क्षेत्रका छिन्चु, रामघाट, दशरथपुर, जहरे, मेहलकुना र बोटेचौर स्थानीय बजार हुन् । यी बजार क्षेत्रका छरिएका बस्ती आधुनिक संरचना र सुविधामा जोडेर उपत्यकालाई पूर्ण रूपमा आधुनिक शहर बनाउने सरकारी योजना छ ।

भेरीगंगा आधुनिक शहरले पूर्ण रूपमा आकार लिन अझ २५ वर्ष लाग्ने बताइएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0