४ कात्तिक, सुर्खेत । फिष्टुला उपचार केन्द्र प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको छ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आईएनएफ नेपालका कार्यकारिणी अध्यक्ष रामचन्द्र तिमोथीको उपस्थितिमा आइतबार उपचार केन्द्र प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको हो ।

इन्टरनेशनल नेपाल फेलोसिप (आईएनएफ) र तत्कालिन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको साझेदारीमा सन २००९ देखि वीरेन्द्रनगर–४ कालागाउँस्थित प्रदेश अस्पताल परिसरबाट उपचार केन्द्र सञ्चालनमा आएको थियो।

केन्द्रले सन् २०१८ देखि १७ शैय्याको फिस्टुला उपचार अस्पताल समेत सञ्चालनमा ल्यएको थियो । उक्त भवन समेत कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरिसकेको छ। उपचार केन्द्रको भवन पहिले नै हस्तान्तरण भए पनि आइतबारदेखि सम्पूर्ण पूर्वाधार, उपकरण र जनशक्ति पनि प्रदेश अस्पताल मातहतमा आउने गरी हस्तान्तरण गरिएको छ।

त्यस्तै मेडिकल उपकरण, कार्यालयका सामानहरू, स्वास्थ्य सम्बन्धी मेसिनहरू, फर्निचर, विभिन्न औजारहरूका साथै फिस्टुला उपचार केन्द्रमा कार्यरत जनशक्ति समेत प्रदेश अस्पताललाई औपचारिकरुपमा हस्तान्तरण गरिएको छ ।

आईएनएफ मातहतको फिस्टुला उपचार केन्द्रको नियमित सञ्चालन, निगरानी अब प्रदेश अस्पतालबाट हुने छ । उक्त उपचार केन्द्रमार्फत फिस्टुला भएका बिरामीहरूको नियमित शल्यक्रिया तथा उपचार सेवा उपलब्ध गराउँदै आइएको छ ।

सन् २००९ देखि सञ्चालनमा आएको फिस्टुला आउटरिच कार्यक्रमले २०२४ सम्म तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल तथा हालको कर्णाली प्रदेश अस्पतालका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह र संघसंस्थाहरु गरी करिब ३९ हजार ६९९ जनालाई फिस्टुला सम्बन्धी अभिमुखीकरण गरिएको उपचार केन्द्रले जनाएको छ।

यो अवधिभर कर्णालीसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३१ जिल्लाका ४५९ जना बिरामीहरूको ५६३ वटा शल्यक्रिया गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री भण्डारीले उपचार केन्द्रका लागि आर्थिक सहयोग गर्न प्रदेश सरकार तयार भए पनि दक्ष जनशक्ति व्यवस्थापन गरिदिन आईएनएफलाई आग्रह गरे ।

उनले फिस्टुला उपचार प्रभावकारी सेवा प्रदान गर्न अनुरोध समेत गरे । उनले सन् २०३० सम्म फिस्टुला उन्मुलनका लागि प्रदेश सरकार निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0