विज्ञापन

असोज बाढी–पहिरो क्षतिमा साढे १० अर्बको बीमा दाबी

विज्ञापन
Image
विज्ञापन

२६ कात्तिक काठमाडौं । गएको असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको बाढी–पहिरोबाट भएको क्षतिमा साढे १० अर्ब रुपैयाँभन्दा बढीको बीमा मागदाबी गरिएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार २१ कात्तिकसम्म ३ हजार ४ सय ६० वटा दाबी संख्याबाट कुल १० अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबर मागदाबी परेको हो ।

१० देखि १२ असोजसम्म परेको भारी वर्षाका कारण आएको बाढी–पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो । बाढी–पहिरोपछि १५ असोजमा मुख्यसचिव एकनारायण अर्यालले पत्रकार सम्मेलन गर्दै १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको बताएका थिए ।

बाढी–पहिरोको डेढ महिना हुन लाग्दा पनि क्षतिको यकिन विवरण सरकारले सार्वजनिक गरेको छैन । सडक लगायत भौतिक संरचना साथै व्यक्तिगत सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।

बागमती प्रदेशका जिल्लामा बढी क्षति पुगेको थियो । दक्षिणी ललितपुर र उपत्यकामा नै नख्खु खोलाले ललितपुरमा ठूलो क्षति पुर्‍याएको थियो ।

यस्तै काभ्रेपलाञ्चोकमा रोशी खोलाको आधार क्षेत्र पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा भौतिक संरचना र कृषि तथा पशु चौपायामा ठूलो क्षति पुगेको थियो । यस्तै काठमाडौं र भक्तपुरका बागमती तथा त्यसका सहायक नदीका करिडोर र आसपास क्षेत्रमा डुबानका कारण त्यस क्षेत्रमा सञ्चालन भएका व्यापार–व्यवसायमा क्षति पुगेको थियो ।

बीमा कम्पनीमा परेको मागदाबी विवरणले पनि १० देखि १२ असोजसम्मको भारी वर्षापछिको बाढी–पहिरोका कारण ठूलो क्षति पुगेको देखाउँछ ।

बीमा माग दाबीको तथ्यांक हेर्दा सबैभन्दा धेरै क्षति काठमाडौंमा भएको छ । त्यसपछि ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक र भक्तपुरमा क्षति पुगेको छ ।

काठमाडौमा मात्रै ४ अर्ब ४८ करोड ५६ लाख ७६ हजार रुपैयाँको मागदाबी परेको बीमा प्राधिकरणको तथ्यांक छ । १ हजार ८ सय ५४ वटा दाबीमार्फत उक्त रकम मागदाबी भएको हो ।

यस्तै ललितपुरमा ६ सय ७७ दाबी मार्फत २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँको मागदाबी परेको छ । मकवानपुरमा ३२ दाबी मार्फत १ अर्ब ९ करोड २३ लाख, चितवन ४६ दाबी मार्फत ६४ करोड ४६ लाख, भक्तपुर १ सय ३८ दाबी मार्फत ४७ करोड ७१ लाख र काभ्रेपलाञ्चोकमा १ सय ८७ दाबी मार्फत ३० करोड ९२ लाख रुपैयाँको मागदाबी परेको छ ।

सबैभन्दा धेरै मागदाबी सम्पत्ति बीमामा देखिएको छ । तर, सरकारी आँकडा अनुसार ६ अर्बभन्दा धेरैको क्षति भएको कृषि क्षेत्रमा बीमाको मागदाबी भने न्यून देखिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १५ असोजमा नै कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै अन्नबाली, नगदेबाली, तरकारी तथा पशु चौपाया लगायत गरी ६ अर्बभन्दा बढीको क्षति भएको बताएको थियो । ५८ हजार ४ सय ७६ हेक्टरमा धानबाली नै नष्ट भएको मन्त्रालयले उल्लेख गरेको थियो ।

मानवीय र भौतिक संरचनामा समेत सबैभन्दा ठूलो क्षति बेहोरेको काभ्रेपलाञ्चोकमा मात्रै कृषि क्षेत्रमा करिब १ अर्बको क्षति भएको छ । खाद्यान्न तथा तरकारी बालीमा ५६ करोड ६१ लाख र पशुपालनतर्फ ३३ करोड ६६ लाख ८१ हजार बराबर क्षति पुगेको छ ।

कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीको संयोजकत्वमा समिति नै बनाएर क्षतिको विवरण संकलन भएको थियो । समितिले संकलन गरी तयार पारेको विवरण अनुसार काभ्रेका १३ पालिकामा ५६ करोड ६१ लाख बराबर बाली नोक्सान भएको हो ।

कृषि विकास कार्यालयका अनुसार सबैभन्दा धेरै तरकारी बालीमा ४५ करोड २ लाखको क्षति भएको छ । धान बालीमा ७ करोड ३८ लाख र मकै बालीमा ३ करोड ४३ लाख बढीको क्षति भएको छ । विवरण अनुसार १३ पालिकाको १ हजार ७ सय ८४ हेक्टरमा लगाइएको ८ हजार ९ सय ८६ टन धान, मकै, तरकारी लगायतमा क्षति भएको छ ।

तर, बीमा प्राधिकरणले उपलब्ध गराएको बीमा मागदाबी तथ्यांकमा भने सम्पत्ति, इन्जिनियरिङ तथा ठेकेदार र मोटर बीमामा उच्च देखिन्छ । १० अर्ब ५३ करोड कुल मागदाबीमध्ये करिब १० अर्ब ४९ करोड रुपैयाँ यही तीन बीमालेखको छ ।

कृषि तथा पशुपन्छी क्षेत्रमा बीमा मागदाबी क्षतिको तुलनामा नगन्य मात्रै देखिन्छ । सम्पत्ति बीमामा मात्रै ७ अर्ब ९१ करोड ८९ लाख रुपैयाँको मागदाबी परेको छ ।

त्यस्तै इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा २ अर्ब ८ करोड ८३ लाख र मोटर बीमामा निजीतर्फ ३३ करोड २६ लाख तथा सार्वजनिकतर्फ १६ करोड ८४ लाख रुपैयाँको मागदाबी परेको छ ।

जबकि, पशुपन्छी बीमामा १ करोड २२ लाख, कृषि बाली बीमामा १ करोड ६ लाखको मात्रै मागदाबी परेको छ । पशुपन्छी बीमामा ५७ र कृषि बाली बीमामा १ सय २३ जनाको मागदाबी परेको छ ।

सरकारले कृषि र पशुपन्छी बीमाको प्रिमियम अनुदानमा वार्षिक ठूलो स्रोत खर्च गर्दै आएको छ । सरकारले प्रिमियम अनुदान दिँदा समेत कृषि र पुशपन्छी बीमामा किसानको आकर्षण कम रहेको देखिन्छ । जसले गर्दा प्राकृतिक विपत्तिबाट भएको ठूलो क्षतिमा समेत किसान बीमामार्फत राहत पाउन चुकेका छन् ।

बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदी प्रिमियम अनुदानले मात्रै कृषि र पशुपन्छी बीमाप्रति आकर्षण हुन नसकेको र पहुँच बढ्न नसकेको भन्दै अन्य विकल्प सोच्नुपर्ने देखिएको बताउँछन् । कृषि र पशुपन्छी बीमाको समग्र अवस्था हेर्दा पशुपन्छीको ९० प्रतिशत र कृषिको १० प्रतिशत मात्रै हिस्सा रहेको उनले बताए ।

‘कृषिमा बीमाको दायरा कसरी बढाउने सोचनीय विषय देखिन्छ,’ सुवेदीले भने, ‘स्थानीय स्तरमा किसानसम्म बमिा पु¥याउन सकेनौं भन्ने तथ्य बाढी–पहिरोपछिको क्षतिमा कृषि र पशुपन्छी बीमाको मागदाबी विवरणले समेत देखाएको छ ।’

करिब आधा अर्ब दाबी भुक्तानी

कुल मागदाबीमा २० कात्तिकसम्म ६ सय ३७ को ४७ करोड १५ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी भएको छ । नेपाल बीमक संघका महासचिव अशोक खड्का बीमा कम्पनीले दाबी भुक्तानीका लागि आवश्यक कागजातमा सहजीकरण गर्दा समेत मागदाबी गर्नेले आवश्यक कागजात पेस गर्न ढिलाइ गर्दा दाबी भुक्तानीमा समेत ढिलाइ भएको बताउँछन् ।

साढे १० अर्बको मागदाबी भए पनि बीमा सर्भेयरले गएर क्षतिको यकिन विवरण दिँदा त्यसको एक चौथाई पनि नदेखिने उनले बताए ।

‘पीडित मागदाबीकर्ताले यतिको सामान थियो क्षति भयो भन्ने लागेर मेरो यति क्षति भयो भनेको हुन्छ । तर, सर्भेयर गएर हेर्दा त्यहाँ पूर्णरूपमा क्षति भएको हुँदैन । पीडितलाई लागेको भन्दा कम क्षति भएको हुन्छ,’ उनले भने, ‘बीमा कम्पनीले मागदाबी संकलन गर्दा पीडितले मेरो यति क्षति भयो भनेकोमा १५ प्रतिशत थप गरेर बीमा प्राधिकरणलाई मागदाबीको विवरण बुझाउँछौं । सोहीकारण मागदाबी र वास्तविक क्षतिको दाबी भुक्तानीमा ठूलो अन्तर हुन्छ ।’

यसपालि साना–साना क्षतिको विवरण पनि धेरै आएकाले सानो रकमको मागदाबी गर्नेले कागजात जुटाउन समय लगाउँदा पनि दाबी भुक्तानीमा समय लागेको उनले बताए ।

‘सरकारको ताकेतापछि बीमा प्राधिकरणले हामीलाई ताकेता गर्छ,’ उनले भने, ‘सोही अनुसार सर्भेयरलाई बीमा कम्पनीले ताकेता गरेर क्षतिको विवरण माग गरे पनि दाबी भुक्तानी लिनेले यति समयमा लिनुपर्ने नभनेको हुँदा उसले कागजात जुटाउन हतार गर्दैन । जसले दाबी भुक्तानी पनि ढिलाइ भएको छ ।’

यसपालि बीमा कम्पनीले दाबी भुक्तानी कागजतामा प्रहरी रिपोर्ट र पानी तथा बाढीको विवरण आवश्यक नपर्ने भनेको उनले बताए । पानी परेको र बाढी–पहिरो गएको विवरण प्रहरीबाट प्रमाणित गर्न आवश्यक छैन । यसमा झुटो विवरण पेस गर्ने अवस्था हुँदैन भनेर उक्त कागजात आवश्यक पर्दैन भन्दा पनि आवश्यक कागजात जुटाउन मागदाबी गर्नेले ढिलाइ गर्दा दाबी भुक्तानीमा समेत ढिलाइ भएको नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेको नेपाल बीमक संघ महासचिव खड्काले बताए ।

बीमा प्राधिकरणका प्रवक्ता सुवेदी पनि क्षति भएको बीमितले मेरो यति क्षति भयो भनेर अनुमानित विवरण मात्रै उपलब्ध गराउने भएकाले सोही अनुसार दाबी भुक्तानी नहुने बताउँछन् । सर्भेयरले क्षतिको मूल्यांकनपछि मात्रै यकिन विवरण आउने उनले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन