२२ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थामार्फत ६ महिनामै सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) २६.३ प्रतिशत बढेको छ ।
अन्य क्षेत्रमा कर्जा प्रवाह न्यून रहेका बेला सेयर धितो कर्जा भने उल्लेख्य देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तसम्म कुल ९० अर्ब ९ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएकोमा पुस मसान्तसम्म आइपुग्दा १ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ ।
पुस महिनामा मात्रै ५ अर्ब ८३ करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह भएको छ । सेयर कर्जा लिनेमा ठूला लगानीकर्ता आक्रामक देखिएका छन् ।
पुस मसान्तसम्म १ करोडमाथिको मार्जिन कर्जा ७५ अर्ब ४४ करोड प्रवाह भएको छ । ६ महिनामा यो सीमाको कर्जा ३४.९ प्रतिशत बढेको हो । असार मसान्तसम्म १ करोडमाथिको मार्जिन कर्जा ५५ अर्ब ९३ करोड प्रवाह भएको थियो । कुल मार्जिन कर्जामा १ करोडमाथिको कर्जा हिस्सा ६६ प्रतिशत हो ।
त्यस्तै ६ महिनाको अवधिमा ५० लाखदेखि १ करोडसम्मको मार्जिन कर्जा १४.९ प्रतिशत बढेको छ । पुस मसान्तसम्म यो सीमाको कर्जा १४ अर्ब २८ करोड रुपैयाँ गएको छ ।
२५ देखि ५० लाखसम्मको कर्जा पुस मसान्तसम्म १६ अर्ब १४ करोड प्रवाह भएको छ । ६ महिनामा यो सीमाको कर्जा ११.९ प्रतिशत बढेको हो । २५ लाखमुनिको मार्जिन कर्जा पुस मसान्तसम्म ७ अर्ब ९० करोड प्रवाह भएको छ । सानो सीमाको यो कर्जा ६ महिनामा जम्मा ८.१ प्रतिशत बढेको छ ।







