विज्ञापन

अदालतलाई ह्वाइट हाउसको जवाफ : मस्कले ट्रम्पलाई सल्लाह दिन सक्छन्, निर्णय गर्न सक्दैनन्

विज्ञापन
Image
विज्ञापन

७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले इलोन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सल्लाह मात्र दिन सक्ने तर कुनै निर्णय गर्न नसक्ने स्पष्ट पारेको छ ।

ह्वाइट हाउसले अदालतमा दिएको जवाफमा उनी सरकारी कार्यक्षमता विभाग (डोज) का कर्मचारी नभएकोले सरकारी निर्णय लिने अधिकार उनमा नभएको जवाफ दिएको हो ।

मस्कविरुद्ध १४ राज्य अदालतमा

न्यू मेक्सिकोको अगुवाइमा १४ अमेरिकी राज्यहरूले वासिङ्टन डिसीको संघीय अदालतमा ट्रम्प र मस्कविरुद्ध मुद्दा दायर गरेका छन् । यी राज्यहरू इलोन मस्कलाई डग प्रमुख बनाइएकोमा रुष्ट छन्। उनीहरूको दाबी छ– मस्कको हातमा ठूलो शक्ति पुगेको छ, जुन अमेरिकी संविधानको उल्लङ्घन हो।

के भन्छ ह्वाइट हाउस ?

यस मुद्दाको सन्दर्भमा ह्वाइट हाउसको प्रशासन कार्यालयका निर्देशक जोशुआ फिसरले अदालतमा मस्कको भूमिका सल्लाहकारको मात्र रहेको जवाफ दिएकी छन् ।

उनको काम राष्ट्रपतिलाई सल्लाह दिने र प्रशासनको निर्देशन कर्मचारीहरूसम्म पुर्‍याउने मात्र रहेको उनको जिकिर छ ।

मस्कलाई यो शक्ति संविधानकै लागि खतरा !

१४ राज्यहरूद्वारा दायर मुद्दामा भनिएको छ, ‘सरकारी जनशक्ति हटाउने र एकै पटकमा सम्पूर्ण विभागलाई खारेज गर्ने असीमित शक्ति राष्ट्रपति ट्रम्पले मस्कलाई दिनु यो देशलाई स्वतन्त्रता दिलाएका मानिसहरूका लागि एकदमै चकित पार्ने कुरा हो ।’

मुद्दामा भनिएको छ, ‘लोकतन्त्रलाई यसभन्दा ठूलो खतरा के हुन सक्छ कि देशको सम्पूर्ण शक्ति एकजना व्यक्तिको हातमा पुगेको छ, जो निर्वाचित व्यक्ति होइन ।’

राष्ट्रपतिलाई पनि छैन यस्तो अधिकार

मुद्दामा भनिएको छ- संविधानको नियुक्ति सम्बन्धी व्यवस्थाले मस्क जस्तो अधिकार पाउने व्यक्तिलाई राष्ट्रपतिले औपचारिक रूपमा नियुक्त गर्नुपर्छ र सिनेटले त्यसमा स्वीकृति दिनुपर्छ।

संविधानले अमेरिकी राष्ट्रपतिलाई कार्यपालिकाको संरचना र सरकारी खर्चसँग जोडिएका विद्यमान कानूनहरूमा परिवर्तन गर्ने अधिकार नदिएको मुद्दामा जिकिर गरिएको छ । ‘त्यसकारण देशका राष्ट्रपतिलाई नयाँ संघीय एजेन्सीहरू बनाउने वा कुनै एजेन्सीलाई खत्तम गर्ने अधिकार छैन,’ मुद्दामा भनिएको छ ।

‘मस्कको काम गैरकानुनी घोषणा गरियोस्‘

अहिले मस्कले जुन भूमिका निर्वाह गरिरहेका छन् र जसरी निर्णय गरिरहेका छन् यो जिम्मेवारी ह्वाइट हाउसका लागि सल्लाहकारभन्दा धेरै रहेको मुद्दामा उल्लेख गरिएको छ ।

मस्कले कम्तीमा १७ संघीय एजेन्सीहरूमा हस्तक्षेप गरेका छन्। अहिलेसम्म उनले गरेका सबै कामहरू अवैध घोषणा गर्न १४ राज्यहरूले अदालतसँग माग गरेका छन् ।

मस्कविरुद्ध दोस्रो मुद्दा

यो डोज प्रमुख बनेपछि मस्क विरुद्धमा दर्ता गरिएको दोस्रो मुद्दा हो। यसअघि मेरिल्याण्डको संघीय अदालतमा पनि संविधानको उल्लङ्घन गरेको दाबी गर्दै उनीमाथि एउटा मुद्दा दर्ता गरिएको थियो।

ट्रम्पले मस्कलाई अमेरिकी सरकारको खर्च एक तिहाइसम्म कम गर्नेगरी जिम्मेवारी दिएका छन् । मस्कले अमेरिकी राज्यकोषको वर्षेनी २ ट्रिलियन डलर बचाउने ट्रम्पले जिकिर गरेका छन् । डोजले सरकार बाहिर रहेर सल्लाह दिनेगरी ट्रम्पले अधिकार दिएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन