विज्ञापन

अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका प्राध्यापकको छानबिन अन्तिम चरणमा

विज्ञापन
Image
विज्ञापन

२३ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदामा गएका तर नफर्किने प्राध्यापकको छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ। रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजालका अनुसार छानबिन समितिले तथ्यांक संकलन गरिसकेको र अहिले त्यसलाई अन्तिम रूप दिन काम भइरहेको छ। ‘छिट्टै रिपोर्ट पेस हुन्छ,’ रिजालले जानकारी दिए।

त्रिविले डा. जीवन काफ्लेको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिले विभिन्न क्याम्पस पुगेर नफर्किएका प्राध्यापकहरूको सूची तयार पारेको छ।

त्रिविका नियम अनुसार, अध्ययनका लागि दिइने अधिकतम ५ वर्षको तलबी बिदापछि, प्राध्यापकले सो बराबरको अवधि त्रिविमा सेवा दिनुपर्ने प्रावधान छ। तीन वर्षसम्मको बिदा लिएमा कम्तीमा तीन वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ।

तर, बिदा लिएर फर्किन नचाहने प्राध्यापकले न त काम गर्छन्, न त लिएको तलब भत्ता फिर्ता गर्छन्। नियम अनुसार, नफर्किएमा बिदामा बसेको अवधि बराबरको सम्पूर्ण तलब भत्तासहित १२ प्रतिशत ब्याज तिर्नुपर्नेछ।

पछिल्लो १० वर्षमा ८९३ प्राध्यापकले अध्ययन बिदा लिएका छन्। तर, कति फर्किए, कति अध्ययन पूरा नगरी आए, र कति अझै सम्पर्कविहीन छन् भन्ने अभिलेख त्रिविसँग छैन। अनुमान अनुसार, उनीहरूलाई दिइएको तलब भत्ता मात्रै दुई अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यसले विश्वविद्यालयमा आर्थिक, शैक्षिक र नैतिक असर परेको त्रिविले स्वीकार गरेको छ।

यसैबीच त्रिविले अर्को निर्णय उल्टाउने तयारी गरेको छ—बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन लिने निर्णय। यसबारे कार्यकारी परिषद्ले छिट्टै निर्णय लिने तयारी गरिरहेको र कानुनी सल्लाह लिइरहेको रजिस्ट्रार रिजालले बताए।

हाल त्रिविबाट ४ हजार १५६ जना उपप्राध्यापकदेखि प्राध्यापकसम्मले पेन्सन लिइरहेका छन्। तीमध्ये १२६ जनाले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन लिइरहेका छन्। कतिपयले आवश्यक २० वर्ष नपुगी, बेतलबी बिदा जोडेर १७ वर्षकै सेवामा पेन्सन पाएका छन्।

उपकुलपति प्रा.डा. खड्ग केसीका अनुसार, यस्तो निर्णयले त्रिविमा आर्थिक भार मात्र होइन, अनियमितता पनि बढाएकोले कार्यकारी परिषद्बाट निर्णय उल्टाइनेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन