विज्ञापन

बेंगलुरु उत्सवमा भीडले लियो ११ को ज्यान, विराट कोहलीविरुद्ध आलोचना चुलियो

विज्ञापन
Image
विज्ञापन

२३ जेठ, काठमाडौं । बेंगलुरुमा आयोजित आरसीबीको विजय उत्सवका क्रममा भएको भागदौडमा ११ जनाको मृत्यु भएपछि सामाजिक सञ्जालमा यसको कडा आलोचना भइरहेको छ । दुर्घटनापछि विशेषगरी स्टार खेलाडी विराट कोहलीमाथि पनि आक्रोश देखिएको छ । उनलाई पक्राउ गर्नुपर्ने मागसहित अहिले #ArrestKohli ट्रेन्डिङमा छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कोहलीले घटनाको गम्भीरता नबुझी उल्टै लन्डन प्रस्थान गरेको भन्दै आलोचना गरेका छन् । कतिपयले त प्रहरीले कार्यक्रम दुई दिन पछि सार्न अनुरोध गर्दा समेत नमानेको र त्यसैले दुर्घटना भएको दाबी गरेका छन्, यद्यपि ती दाबीहरूको आधिकारिक पुष्टि भइसकेको छैन ।

अर्कोतर्फ, कोहलीको पक्षमा आवाज उठाउनेहरू पनि उत्तिकै सक्रिय छन् । उनीहरूको तर्क छ कि खेलाडीहरूको जिम्मेवारी मैदानभित्र मात्रै सीमित हुन्छ र सुरक्षा तथा भीड नियन्त्रण आयोजकको दायित्व हो । आरसीबीले पहिलोपटक आईपीएल उपाधि जितेपछि आयोजित स्वागत समारोहमा हजारौं समर्थक रंगशाला बाहिर भेला भएका थिए । भीड नियन्त्रणमा कमजोरी देखिएपछि मच्चिएको भागदौडमा ज्यान गएको हो । घटनाको आलोचना चुलिएसँगै बेंगलुरु प्रहरीले आरसीबीका मार्केटिङ प्रमुख, कार्यक्रम आयोजक कम्पनी डिएनए इन्टरटेन्मेन्टका अधिकारीहरूलाई पक्राउ गरिसकेको छ ।

यस्तै, कार्यक्रम बिना अनुमति गरिएको भन्दै प्रहरीमाथि पनि कारबाही भएको छ । कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाको निर्देशनमा प्रहरी प्रमुखसहित सात जना अधिकारी निलम्बनमा परेका छन् भने एक सदस्यीय न्यायिक आयोग गठन गरेर ३० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । घटनापछि कोहली र अन्य खेलाडीलाई नै कानुनी दायरामा ल्याउने विषयमा बहस सुरु भएको छ, जसले यो विषयलाई सामाजिक मात्र नभई राजनीतिक रंग पनि दिन थालेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन