काठमाडौं — जल तथा मौसम विज्ञान विभागले एक साताभित्र नेपालभर मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ। विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, यस वर्ष औसत मितिभन्दा १५ दिन अघिनै मनसुन नेपालको पूर्वी भूभागमा प्रवेश गरिसकेको छ, र अब त्यो क्रम क्रमशः पश्चिमतर्फ विस्तार हुँदैछ।
हाल कोशी प्रदेश वरपर मनसुन सक्रिय रहँदा देशका अधिकांश भागमा हल्कादेखि मध्यम तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। कँडेलका अनुसार, मनसुनी वायुले अझ फैलिन सक्ने अनुकूल वातावरण बनिरहेकोले अबको एक हप्ताभित्र देशव्यापी रूपमा मनसुन सक्रिय हुने अनुमान गरिएको छ।
उनले आगामी दिनमा सबै प्रदेशमा वर्षाका गतिविधि क्रमशः तीव्र हुँदै जाने पनि स्पष्ट पारिन्। यस्तै, यो वर्ष वर्षासँगै अधिकतम तथा न्यूनतम तापक्रम पनि औसतभन्दा माथि रहने सम्भावना रहेको बताइएको छ। बुधबार र बिहीबारदेखि नै वर्षा शुरु हुने अनुमानअनुसार हाल देशभर बिस्तारै वर्षाको सक्रियता देखिन थालेको कँडेलको भनाइ छ।
दिउँसोको तापक्रम उच्च हुन थालेका बेला सक्रिय हुने मनसुनले जलवायु सन्तुलनका साथै कृषि उत्पादनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। तर, भारी वर्षाका सम्भावनालाई मध्यनजर गर्दै पूर्वसावधानी अपनाउन मौसम विभागले आग्रह पनि गरेको छ।














