बुटवल — लगातारको वर्षापछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडक हिलाम्य बनेको छ, जसले गर्दा सवारी आवागमनमा ठूलो समस्या देखिएको छ। विशेषगरी दुम्किबासबाट दाउन्नेतर्फ उकालो लाग्ने क्षेत्रमा सडक अत्यधिक चिप्लो भएकाले सवारीसाधनहरू सहज रूपमा चल्न सकेका छैनन्।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार, निर्माणाधीन सडकमा वर्षाका कारण जमेको हिलोले ट्रक लगायतका भारी सवारी साधनहरू उकालो चढ्न नसकिरहेका छन्। जसले गर्दा लामो जाम सिर्जना भएको छ र यात्रुहरू घण्टौंसम्म गाडीमै बस्न बाध्य भएका छन्।
प्रहरी प्रवक्ता डिएसपी विरदत्त पन्तले जानकारी दिएअनुसार, लोड भएका गाडीहरू हिलोमा फसेर चल्न नसक्दा समस्या भएको हो। सामान्य गाडीहरू भने विस्तारै अगाडि बढिरहेका छन्, तर पूर्ण रूपमा सवारी सञ्चालन सम्भव नभएको जनाइएको छ।
यसअघि पनि एक ट्रक बिग्रिएर सडकमा रोकिनुले ट्राफिक थप प्रभावित भएको थियो। अहिले त्यो ट्रक हटाइए पनि सडकमा जमेको हिलोका कारण सवारी सञ्चालनमा अझै अवरोध देखिएको छ। यात्रुहरू असहज अवस्थामा यात्रा गर्न बाध्य छन् भने चालकहरू पनि समस्यामा परेका छन्।






