१० असार,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५८२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको दोस्रो नगरसभाको सातौं अधिवेशनअन्तर्गत तेस्रो बैठकमा नगर उपप्रमुख जागेश्वरी चौधरीले उक्त बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तावित बजेटमा चालु खर्चतर्फ एक अर्ब २९ करोड ४० लाख रुपैयाँ अर्थात् करिब ४४ प्रतिशत र पूँजीगत खर्चतर्फ एक अर्ब ६३ करोड ५३ लाख रुपैयाँ अर्थात् झण्डै ५६ प्रतिशत विनियोजन गरिएको छ।
उपप्रमुख चौधरीका अनुसार उक्त बजेट आन्तरिक आम्दानीबाट ३३ करोड र बाँकी दुई अर्ब ५९ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरण र बचतबाट प्राप्त गर्ने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षको तुलनामा यस वर्ष १६ करोड बढी बजेट ल्याइएको हो। बजेटमा शिक्षा तथा सामाजिक विकास क्षेत्रमा करिब ९९ करोड विनियोजन गरिएको छ भने आर्थिक विकासका कार्यक्रमहरूअन्तर्गत किसानलाई दिइँदै आएको दूध अनुदानका लागि ७० लाखसहित करिब ६ करोड विनियोजन गरिएको छ।
पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिँदै एक वडा एक किलोमिटर सडक निर्माण, तिलोत्तमा बहुउद्देश्यीय भ्यू टावर, सिटी कलेज व्यवस्थापन, तालिम केन्द्र स्थापना, वडा भवन निर्माण, सडक मर्मत तथा आवश्यक उपकरण खरिदका लागि झण्डै ९८ करोड विनियोजन गरिएको छ। यस्तै, टोल विकास संस्थाहरूलाई सक्रिय बनाउँदै नगरको समग्र विकासमा योगदान पुगोस् भन्ने उद्देश्यसहित बजेट छुट्याइएको छ। नगरपालिकामा कार्यरत करार कर्मचारी र नगर प्रहरीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न पनि बजेट व्यवस्था गरिएको छ। सुशासन, संस्थागत सुधार तथा कर्मचारी व्यवस्थापनसँग सम्बन्धित क्षेत्रमा करिब ५२ करोडको बजेट विनियोजन गरिएको छ।










