फेसबुकको मातृ कम्पनी मेटाले नयाँ पुस्ताको स्मार्ट चस्मा सार्वजनिक गर्न तयारी पूरा गरेको छ। यसपटक मेटाले प्रतिष्ठित चस्मा निर्माता ओकलीसँग सहकार्य गरेको छ। टेक्नोलोजी र स्पोर्ट्स गियरको संगम मानिएको यो सहकार्य अन्तर्गतको पहिलो उत्पादन आगामी जुन २० मा सार्वजनिक गरिने बताइएको छ।
स्मार्ट चस्माको प्रचार अभियानका लागि इन्स्टाग्राममा @oakleymeta नामक नयाँ अकाउन्ट बनाइएको छ, जहाँबाट पहिलो टीजर भिडियो सार्वजनिक गरिएको छ। उक्त भिडियोमा मेटा र ओकली दुवैको लोगो देखिन्छ, र अन्त्यमा ‘२० जून’ लेखिएको छ, जसले उत्पादन सार्वजनिक हुने मिति संकेत गर्दछ। मेटाले उक्त भिडियोलाई आफ्नो प्लेटफर्ममा पुनः शेयर गर्दै ओकलीसँगको सहकार्य औपचारिक रूपमा पुष्टि गरिसकेको छ।
यसअघि मेटाले स्मार्ट चस्मा निर्माणका लागि रेबनसँग साझेदारी गरिसकेको थियो, जुन बजारमा लोकप्रिय बन्न सफल भएको थियो। अब ओकलीसँगको सहकार्यले खासगरी खेलप्रेमी, साहसिक गतिविधिमा रुचि राख्ने, र प्रविधिमा रुचि राख्ने प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ विकल्प प्रस्तुत गर्ने विश्वास गरिएको छ।
ओकली र रेबन दुवैको स्वामित्व EssilorLuxottica नामक कम्पनीसँग रहेकोले, मेटालाई डिजाइन र हार्डवेयर पक्षमा उच्च गुणस्तरको सहयोग मिल्ने अपेक्षा गरिएको छ। यो सहकार्य मेटाको स्मार्ट वेयरेबल टेक्नोलोजीको क्षेत्र विस्तार गर्न गरिएको अर्को रणनीतिक कदमको रूपमा हेरिएको छ।
नयाँ स्मार्ट चस्मामा ओकलीको Sphaera डिजाइन अपनाइएको छ। यसमा अगाडिको मध्य भागमा क्यामेरा लेन्स रहेको देखिन्छ, जसले चस्मालाई पुरानो मेटा–रेबन चस्माबाट स्पष्ट रूपले अलग बनाउँछ। डिजाइनले स्पष्ट रूपमा संकेत गर्छ कि यो चस्मा साइकल चालक, मोटरसाइकल राइडर, खेलकुद खेलाडी लगायतलाई ध्यानमा राखेर बनाइएको हो। यसले गो प्रोजस्ता एक्शन क्यामेरालाई समेत प्रतिस्पर्धा दिन सक्ने अड्कल गरिएको छ।
मेटा-ओकली स्मार्ट चस्मामा फ्रन्ट क्यामेरा, भिडियो रेकर्डिङ, ह्यान्ड्स-फ्री फिचर, स्टाइलिश र स्पोर्टी डिजाइन, मेटाको एआई र अग्मेन्टेड रियालिटी (AR) एकीकरण तथा ब्लुटूथ/इन्टरनेट जडान जस्ता प्रमुख विशेषता समावेश हुने भनिएको छ।
प्रविधि विश्लेषकहरूका अनुसार यो चस्मा केवल एउटा ग्याजेट नभई ‘स्पोर्ट्स टेक’ र ‘स्मार्ट वेयरेबल्स’ को क्षेत्रमा मेटाको महत्वपूर्ण छलाङ हुनेछ। यसले स्मार्ट चस्माको प्रयोगकर्ता दायरा फराकिलो बनाउने र स्पोर्ट्स तथा एड्भेन्चर टेक्नोलोजीलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

















