विज्ञापन

रौनकको सतकमा नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

विज्ञापन
Image
विज्ञापन

बुटवल । एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानविरुद्ध शानदार प्रदर्शन गर्दै ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल बनाएको छ। मलेसियामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि रौनक श्रीवास्तवले उत्कृष्ट शतकीय इनिङ खेले।

रौनकले १३२ बल खेलेर १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रनको विस्फोटक इनिङ खेले। नेपालका लागि यो प्रतियोगितामा अहिलेसम्मको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर हो।

नेपालको सुरुवात भने कमजोर रह्यो। टोलीले सुरुवाती १७ रनमै दुई ओपनर गुमाएको थियो। त्यसपछि तेस्रो विकेटका लागि रौनकले शिवान्श बजगाईंसँग ८४ बलमा ९१ रनको साझेदारी गर्दै पारीलाई सम्हाले। शिवान्शले ५२ बलमा ५ चौकाको मद्दतले ५४ रन बनाए।

चौथो विकेटका लागि रौनक र सुगम बुढाथोकीबीच ६१ बलमा ७२ रनको सहकार्य भयो। सुगमले ३३ बलमा ४ चौकाको सहयोगमा ३५ रन बनाए।

रौनकले आफ्नो पारीको अन्त्यतिर जोय थापासँग मिलेर पाँचौँ विकेटका लागि १३० बलमा १७० रनको विशाल साझेदारी गरे। जोय ६७ बलमा ७ चौकासहित ६१ रनमा अविजित रहे। अघिल्लो खेलमा शतक बनाएका प्रसिद्ध जैसी यसपटक १४ बलमा ७ रनमै आउट भए भने परिमार्जन यादवले २ रन बनाए।

भुटानका लागि संजय दोर्जेले ३ विकेट लिए भने तेन्जिन लोडेले १ विकेट लिए।

नेपालले यसअघि समूह चरणका तीनवटै खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रो खेलमा जापान र तेस्रो खेलमा इन्डोनेसियालाई हराएको हो।

समूह ‘ए’ बाट नेपाल र सिंगापुर सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। भुटान भने लगातार हारपछि समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा भइरहेको प्रतियोगितामा १० राष्ट्र सहभागी छन्। दुई समूहमा बाँडिएको प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, सिंगापुर, जापान, इन्डोनेसिया र भुटान छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, थाइल्याण्ड, माल्दिभ्स र म्यानमार रहेका छन्।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। फाइनल खेल आगामी ५ जुलाई (असार २१ गते) हुनेछ। नेपाल यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो। गत वर्ष नेपालले मलेसियालाई हराउँदै उपाधि जितेको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन