तानसेन — राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माण कार्य सम्पन्न भएको छ।
आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीका अनुसार सुरुङमार्गको मुख्य टनेलको कुल १,०८९ मिटर क्षेत्रमा इन्भर्ट निर्माण कार्य सकिएको हो। उनका अनुसार बुधबारदेखि इन्भर्टको काम पूरा भएसँगै अब लाइनिङको काम तीव्र गतिमा अगाडि बढाइएको छ। हालसम्म ८३४ मिटर लाइनिङ सम्पन्न भइसकेको छ।
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रअन्तर्गत सिद्धार्थ राजमार्गमा निर्माण भइरहेकाे यो सुरुङमार्गको हालसम्मको भौतिक प्रगति ५६.३ प्रतिशत पुगेको छ भने आर्थिक प्रगति ५०.२४ प्रतिशत रहेको छ। सुरुङमार्गको ब्रेकथ्रु पछि निर्माण कार्यमा उल्लेख्य गति आएको बताइएको छ।
बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि सुरु भई पाल्पाको दोभानसम्मको १,१२६ मिटर लामो सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो। अत्यधिक पहिरो खस्ने क्षेत्रका रूपमा चिनिने यस खण्डमा सवारी साधनलाई सुरक्षित पार्न सुरुङमार्ग बनाइएको हो। यो खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीका यात्रुहरू आवतजावत गर्छन्।
चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले करिब सात अर्ब ३४ करोड रुपैयाँ लागतमा यो परियोजना सुरु गरेको हो, जुन सन् २०२६ (वि.सं. २०८३) सम्ममा सम्पन्न गर्ने लक्ष्य छ।
आगामी आर्थिक वर्षका लागि सरकारद्वारा सिद्धबाबा सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि दुई अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।








