बुटवल — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा निर्माण सम्पन्न भएको पक्की पुल आजदेखि सवारीसाधनका लागि खोलिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार नयाँ पुल सञ्चालनमा आएपछि यस खण्डमा यातायात सहज भएको छ।
यसअघि, पुरानो पुलमा अत्यधिक लोडका कारण संरचनात्मक क्षति पुगेपछि सवारी आवागमन पूर्णरूपमा रोकिएको थियो। वैकल्पिक रूपमा अस्थायी डाइभर्सनको सहायताले यातायात सुचारु गरिएको भए पनि लगातारको वर्षासँगै आएको बाढीले नौ पटकसम्म उक्त डाइभर्सन बगाएको थियो, जसले यात्रुहरूलाई निकै सास्ती भएको थियो।
डिभिजन कार्यालयका अनुसार निर्माणाधीन नयाँ पुल पूर्ण रूपमा सम्पन्न भएपछि अब स्थायी रूपमा सुरक्षित सवारी आवागमन सम्भव भएको छ। भर्खरैको बाढीमा यात्रु बोकेको बससमेत विनयी खोलाले बगाएको घटनालाई मध्यनजर गर्दै पुलको महत्व झनै बढेको छ।
“नयाँ संरचना सञ्चालनमा आएपछि सवारीचालक र यात्रुहरूका लागि जोखिम कम हुने विश्वास लिएको छ,” डिभिजनले विज्ञप्तिमार्फत जानकारी दिएको छ।








