काठमाडौं, २२ असार – भोजपुरमा पारिवारिक कलहले नरसंहारको रूप लिँदै एकै परिवारका चार सदस्यको ज्यान गएको छ। भोजपुर नगरपालिका–२, हेलौछाका राजेन्द्र राईले आफ्नो ससुरा, सासु, पत्नी र सालीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार, घटनापछि राईले राति करिब १:१५ बजे प्रहरी कन्ट्रोल रुममा आफैं फोन गरी, “ममाथि चक्कु प्रहार भयो, मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुहोस्,” भनेका थिए।
सूचना पाएको केहीबेरमै अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट अर्को टोली घटनास्थलतर्फ खटाइएको थियो। रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीस्थित घरमा प्रहरी पुग्दा ६८ वर्षीय बेलबहादुर गिरी (ससुरा), उनकी पत्नी मञ्जु गिरी (सासु), राईकी १६ वर्षीया पत्नी तथा १० वर्षीय साली मृत अवस्थामा भेटिएका थिए।
प्रहरीका अनुसार हत्या भएका चारजनामध्ये दुई बालक (पत्नी र साली) भएकाले उनीहरूको नाम गोप्य राखिएको छ।
राजेन्द्र राई भने घटनास्थलभन्दा ४–५ किलोमिटर टाढा, रामप्रसाद राई गाउँपालिका–१, हर्बुभञ्ज्याङ भन्ने स्थानमा घाइते अवस्थामा फेला परेका हुन्। उनको पेटमा धारिलो हतियारका गहिरा चोट छन् र अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक बयानमा उनले राति ११ बजेतिर आफ्नी सासुले चक्कु प्रहार गरेपछि आफूले क्रोधमा आएर चार जनाको हत्या गरेको बताएका छन्। प्रहरीका अनुसार, उनी विस्तारै बोल्न सक्ने अवस्थामा छन् र आफैंले हत्या गरेको स्वीकारेका छन्।
राजेन्द्र राईले झण्डै एक वर्षअघि प्रेम विवाह गरेका थिए।
हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






