बुटवल, लुम्बिनी प्रदेश — लुम्बिनी प्रदेशको गौरवको परियोजनाका रूपमा अगाडि बढिरहेको लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण प्रगति निरीक्षण गर्न आइतबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थलगत अवलोकन गरेका छन्।
निरीक्षणका क्रममा अर्थमन्त्री पौडेलले पूर्वाधार विकास प्राधिकरण लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर छवि पोखरेलसँग हालसम्मको प्रगति र बाँकी कामको विवरणबारे जानकारी लिएका थिए। इञ्जिनियर पोखरेलले अस्पतालको निर्माण कार्य निर्धारित समयभन्दा एक वर्ष अगावै सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै भने, “यदि कुनै ठूलो विपत्ति वा आर्थिक अवरोध नआएमा पाँच वर्षको लक्ष्य चार वर्षमै पुरा गर्नेछौं।”
अर्थमन्त्री पौडेलले कामको तीव्रता र गुणस्तरमा ध्यान दिँदै प्रतिबद्धता अनुसारको नतिजा दिन आग्रह गरे।
सरकारी क्षेत्रमै सबैभन्दा ठूलो तथा अत्याधुनिक सुविधा समेट्ने लक्ष्यसहित निर्माण भइरहेको यस अस्पतालको निर्माणमा हालसम्म २६ प्रतिशत काम सम्पन्न भइसकेको छ। प्राधिकरणका साइट इञ्चार्ज शंकर सुवेदीका अनुसार मुख्य भवनको बेसमेन्ट तयार भइसकेको छ भने क्यान्सर उपचार भवनको ढलानसमेत पूरा गरिएको छ। त्यस्तै, मुख्य भवनको दायाँ, बायाँ र मध्य भागको पहिलो तहको निर्माण पनि सम्पन्न भएको जानकारी दिइएको छ।

निर्माण स्थलको निरीक्षणमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, तथा एमाले लुम्बिनी प्रदेश सदस्य गोपाल राना लगायतको उपस्थिति थियो।
त्यस्तै, अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालसहित अस्पताल परिवारले अर्थमन्त्री पौडेलसहितको टोलीलाई स्वागत गरेका थिए।
आठ अर्ब ९९ करोडभन्दा बढी लागत अनुमान गरिएको यस परियोजनामा दुईवटा भवन, आवश्यक उपकरण तथा आन्तरिक व्यवस्थापनसमेत समेटिएको छ। निर्माण कार्य भारतीय कम्पनी क्याम्पासाइट र नेपाली साझेदार कम्पनीहरू आशिष कन्स्ट्रक्सन तथा रेलिगेरको संयुक्त टोलीले गरिरहेको हो।
वि.सं. २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य सुरु गरिएको हो। पाँच वर्षको निर्माण अवधि भित्र ६ अर्ब १८ करोड रुपैयाँको लागतमा १२ तले अस्पताल भवन निर्माण गर्ने लक्ष्य प्राधिकरणले लिएको छ।
नयाँ भवनको तल्लो दुई तला पार्किङका लागि, अगाडिको भाग ओपीडी र इमर्जेन्सी सेवाका लागि, र माथिल्ला तलामा करिब १२०० शय्याको उपचार सेवा रहने गरी संरचना तयार गरिँदै छ।








