बौद्धिक अपाङ्गता र अटिजम भएका व्यक्तिहरूप्रति सहानुभूति र समावेशी सोच विकास गर्न कपिलवस्तुको चन्द्रौटामा एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल विकास केन्द्र, रुपन्देहीको आयोजनामा र अटिजम केयर सेन्टरको सहकार्यमा सञ्चालन भएको कार्यक्रममा शिक्षा, स्वास्थ्य र सामाजिक विकासका विभिन्न पक्षबारे गहिरो छलफल भएको थियो।
प्रशिक्षकका रूपमा उपस्थित शिवराज नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत बाबुराम पौडेलले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्य, समाज र परिवारको भूमिकाबारे सहभागीहरूलाई जानकारी गराए। उनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न कानुनी प्रावधान, सरकारी सेवा तथा सहायताका कार्यक्रमहरू, र व्यवहारिक कार्यान्वयनका चुनौतीहरूबारे प्रकाश पारे।
कार्यक्रममा नगरका जनप्रतिनिधि, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी र सरोकारवालाहरूको सक्रिय सहभागिता रह्यो। सहभागीहरूले समाजमा विद्यमान भ्रम र पूर्वाग्रह तोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।
यस कार्यक्रमको उद्देश्य केवल जानकारी दिनु मात्र नभई, अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मसम्मानसहितको जीवनयापनमा टेवा पुर्याउनु, परिवारलाई सहयोगी वातावरण निर्माण गर्न उत्प्रेरित गर्नु र समुदायलाई समावेशी सोचतर्फ अग्रसर गराउनु रहेको आयोजक संस्थाले जनाएको छ।








