काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कृषि विकास बैंक लिमिटेडले ३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुनलामा गत वर्ष कम्पनीको खुद नाफा ४८ दशमलव ८८ प्रतिशत बढेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम कम भएकाले खुद नाफा बढेको देखिन्छ ।
अघिल्लो वर्ष २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम गत वर्ष १० करोड ६२ लाख रुपैयाँभन्दा बढी रहेको हो । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी रहेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष करिब ४१ प्रतिशत वितरणयोग्य नाफा बढेको हो । हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ८५ करोड ५२ लाख २४ हजार रुपैयाँ छ । रिटर्न अर्निग २ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १६ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी रहेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले साढे २० प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने करिब ५ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्षको चौथो त्रैमाससम्म कम्पनीले २ खर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । अघिल्लो वर्ष ३ दशमलव ९१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष भने घटेर ३ दशमलव २६ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा छ ।

















