बुटवल । धार्मिक आस्था, सामाजिक एकता तथा आपसी सद्भावको सन्देश बोकेको गुल्मी छत्रकोट–५ खरज्याङ रुपन्देही सम्पर्क समाजद्वारा आयोजित तीन दिने धार्मिक तीर्थयात्रा सफलतापूर्वक सम्पन्न भएको छ। समाजसँग आबद्ध छत्रकोट–५ खरज्याङसँग सम्बन्धित तीर्थयात्रीहरू सहभागी रहेको उक्त यात्रा वैशाख २५ गते बिहान समाजका कोषाध्यक्ष अञ्जन प्रकाश घिमिरेले सहभागी तीर्थयात्रीहरूलाई खादा लगाएर शुभारम्भ गर्नुभएको थियो। खरज्याङ र बुटवलबाट एकसाथ सुरु भएको यात्राले धार्मिक तथा सांस्कृतिक महत्वसँगै समाजभित्रको आत्मीय सम्बन्धलाई अझ मजबुत बनाएको समाजले जनाएको छ।
तीन दिनसम्म सञ्चालन भएको धार्मिक तथा पर्यटकीय यात्राका क्रममा सहभागी तीर्थयात्रीहरूले विभिन्न धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेका स्थलहरूको दर्शन, पूजा–आराधना तथा अवलोकन गरेका थिए। यात्राको पहिलो चरणमै सहभागीहरू बागलुङ कालिका मन्दिर पुगेर पूजा–आराधनामा सहभागी भएका थिए। त्यसपछि म्याग्दीको प्रसिद्ध तातोपानी तथा प्राकृतिक सौन्दर्यले भरिएको रुप्से झरनाको अवलोकन गर्दै टोली हिमाली जिल्ला मुस्ताङ प्रवेश गरेको थियो।
यात्राका क्रममा तीर्थयात्रीहरू जोमसोम र कागबेनी पुगेर आफ्ना पितृहरूको सम्झनामा श्राद्ध तथा पिण्डदान कार्यक्रममा सहभागी भएका थिए। त्यसपछि नेपालको चारधाममध्ये एक महत्वपूर्ण धार्मिक धामका रूपमा परिचित मुक्तिनाथ मन्दिरमा पुगेर दर्शन तथा विशेष पूजा–आराधना गरिएको थियो। मुक्तिनाथ दर्शनपछि सहभागीहरू सांस्कृतिक पहिचान बोकेको सुन्दर मार्फा गाउँ भ्रमणमा निस्किएका थिए भने गलेश्वर मन्दिरमा समेत दर्शन तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए। 
तीर्थयात्राको अन्तिम चरणमा सहभागीहरू पर्यटकीय राजधानी पोखरा पुगेका थिए। पोखरामा फेवाताल अवलोकन गर्नुका साथै तालबाराही मन्दिर र बिन्दवासिनी मन्दिरमा दर्शन गरिएको थियो। यात्राभर तीर्थयात्रीहरूले हिमाली तथा पहाडी भू–दृश्य, नदी, झरना तथा प्राकृतिक सम्पदाको अवलोकन गर्दै धार्मिक यात्रासँगै पर्यटनको विशेष अनुभूति समेत साटासाट गरेका थिए।
वैशाख २७ गते बुटवल तथा खरज्याङ फर्किएसँगै तीन दिने धार्मिक तीर्थयात्रा सफलतापूर्वक सम्पन्न भएको समाजले जनाएको छ। यात्रामा सहभागी तीर्थयात्रीहरूले धार्मिक आस्था, सामाजिक एकता तथा आपसी आत्मीयताको अनुभूति अझ गहिरो बनेको बताएका छन्।
सम्पर्क समाजका अध्यक्ष विष्णु प्रसाद पन्तले धार्मिक आस्था, सामाजिक सद्भाव तथा समाजलाई एकताबद्ध बनाउने उद्देश्यले तीर्थयात्रा आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले यात्रालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, समाजसेवी, शुभेच्छुक तथा सहभागी तीर्थयात्रीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
त्यसैगरी समाजका सचिव शारदा कँडेल पाण्डे तथा सह–सचिव दामोदर पौडेलले यस्ता धार्मिक तथा सामाजिक गतिविधिले समाजका सदस्यहरूबीच आत्मीयता, धार्मिक चेतना तथा आपसी सम्बन्ध अझ सुदृढ बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
समाजले आगामी दिनमा पनि धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तर सञ्चालन गर्दै समुदायबीच एकता, सद्भाव र सहकार्यको भावना अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।







