विज्ञापन

भगवतीमा ऐतिहासिक स्वास्थ्य शिविर : ६ सयभन्दा बढी नागरिकले पाए विशेषज्ञ निःशुल्क सेवा

विज्ञापन
Image
विज्ञापन

दिनेश पाण्डे । ३ जेठ, बुटवल ।
अर्घाखाँचीको छत्रदेव भगवती क्षेत्रमा शनिबार मानवता, सेवा र सामाजिक उत्तरदायित्वको अनुपम उदाहरण प्रस्तुत गरिएको छ। अर्घाखाँची भगवति रुपन्देहि सम्पर्क समाज को आयोजनामा सम्पन्न वृहत् निःशुल्क स्वास्थ्य शिविरले सयौं स्थानीय नागरिकलाई प्रत्यक्ष राहत दिएको मात्रै होइन, ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको खाँचो कति गम्भीर छ भन्ने यथार्थ पनि उजागर गरेको छ।

नागरीक मल्टि स्पेसिलिटि हेल्थ सेन्टर को प्राविधिक सहयोग, छत्रदेव गाउँपालिका को आर्थिक सहयोग तथा वडा नम्बर ७ को समन्वयमा श्री सरस्वती माध्यमिक विद्यालय भुस्कातामा आयोजित शिविरमा ६ सयभन्दा बढी स्थानीय नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो। बिहानैदेखि वृद्धवृद्धा, महिला, बालबालिका र दीर्घरोगीहरूको उल्लेख्य भीड लागेको शिविरमा सेवा लिन आएका धेरै स्थानीयले पहिलोपटक विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श पाएको बताएका थिए।


शिविरमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, इसिजी सेवा तथा आवश्यक औषधिको निःशुल्क वितरण गरिएको थियो। ग्रामीण भेगमा सामान्य उपचारका लागि समेत घण्टौं यात्रा गर्नुपर्ने बाध्यता रहेका नागरिकका लागि यो शिविर ठूलो राहत बनेको स्थानीयको प्रतिक्रिया थियो।


विशेषज्ञ चिकित्सकहरूको टोलीले अत्यन्त जिम्मेवार, आत्मीय र प्रभावकारी ढंगले सेवा दिएको सहभागीहरूले बताएका छन्। शिविरमा डा. कपिल गौतम, डा. नविन पौडेल, डा. गोकुल पौडेल, डा. सम्राट पराजुली, डा. श्रीराम पन्थी, डा. शर्मिला शर्मा, डा. मनिष पराजुली तथा डा. देवेन्द्रराज बेल्वासे लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए।


कार्यक्रम शेषकान्त बेल्वासे को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा चन्द्रमान श्रेष्ठ सहभागी थिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा पन्थी, वडा नम्बर ७ का वडा अध्यक्ष नारायण प्रसाद पाण्डे, श्री सरस्वती माविका प्रधानाध्यापक ठाकुर प्रसाद पाण्डे लगायत जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, जनस्वास्थ्य अधिकृत, विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, पत्रकार, फार्मेसिस्ट तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्पर्क समाजका संस्थापक अध्यक्ष कुलचन्द्र पाण्डे, निवर्तमान अध्यक्ष तारा प्रसाद पाण्डे, पूर्व अध्यक्ष लोकनाथ पाण्डे, कार्यक्रम संयोजक देबीराम पाण्डे तथा स्वास्थ्य संयोजक कमल प्रसाद पाण्डे लगायत सम्पर्क समाजका सदस्यहरूको सक्रिय भूमिका रहेको थियो। कार्यक्रमको सहजीकरण समाजका सचिव राम प्रसाद पाण्डे ले गरेका थिए।


ग्रामीण नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गरिएको यस अभियानलाई स्थानीयले अत्यन्त प्रशंसनीय र प्रभावकारी कार्यक्रमको रूपमा लिएका छन्। शिविरले उपचार मात्रै नभई स्वास्थ्य सचेतना फैलाउने काम समेत गरेको सहभागीहरूको भनाइ थियो।

समाजका कार्यसमिति सदस्य जनार्जन पाण्डे का अनुसार, सीमित स्रोतसाधनका बीच पनि सम्पर्क समाज, स्थानीय तह, स्वास्थ्य संस्था र स्वयंसेवकहरूको सक्रिय सहकार्यका कारण कार्यक्रम अत्यन्त सफल भएको हो। उनका अनुसार भविष्यमा पनि यस्ता सामाजिक तथा स्वास्थ्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन