१९ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै छ । प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो ४ बजे संसदमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची तय भएको छ ।
यो सरकारको सम्भवत अन्तिम बजेट हुने नेताहरुको भनाइ छ । बजेटको सिद्धान्त र प्राथमिकता ल्याइसकेको सरकारले अहिलेको नीति तथा कार्यक्रमले केही नयाँ कुरा तय गर्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको भनाइ छ ।
सम्भवत अन्तिम नीति तथा कार्यक्रम पनि हुने भएकाले दीर्घकालीनभन्दा १ वर्षभित्र सम्पन्न गर्न सकिने, अधुरा कामहरु पूरा गर्ने, नयाँ थिति बसाल्ने, नयाँ कार्यक्रमहरुको नीतिगत जग बसाल्ने कुरामा केन्द्रित हुने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
‘हामी भनेको अब एक वर्षमात्र होला । अब कामहरुलाई सम्पन्न गर्ने, नयाँ कार्यक्रमहरुका लागि नीति जग हाल्ने कुरामै अबको बजेट र नीति तथा कार्यक्रम केन्द्रित हुन सक्छ,’ मुख्यमन्त्री पाण्डेले भने ।

















